दलका खोक्रा आश्वासन



पहिलो चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भर्खरै सकिएको छ। बँँकी जिल्लामा प्रचार–प्रसार तीव्र पारिएको छ। निर्वाचनको मिति तोकिएपछि जनतालाई के–के सपना देखाएर आफ्नो पक्षमा तान्न सकिन्छ भन्ने अभिधेयबाहेक अरू केही नभएका घोषणापत्रहरू पनि गाउँ–गाउँमा बाँडिएका छन्। प्रमुख राजनीतिक दलहरूका अघिल्लोपटकका घोषणापत्रहरूले नै जनतालाई विश्वास नगर्ने बनाइसकेका छन्। मुलुक यतिखेर राज्य पुनर्संरचनाको क्रमबद्ध नयाँ चरणमा छ।

केही महिनाअगाडि मात्र पुनर्संरचित स्थानीय तहको निर्वाचन निर्बिघ्न सम्पन्न भयो। स्थानीय निकायलाई अधिकार सम्पन्न स्थानीय सरकारका रूपमा स्थापित गरिने प्रतिबद्धतासहितका भाषणका पर्रा छुटे। तर, सिंहदरबार केन्द्रित सत्ता मानसिकताको जञ्जालबाट पुनर्संरचित स्थानीय निकायहरू मुक्त भएको कुनै आभाष अहिलेसम्म पनि छैन। नवीनताको बोध पनि कहींकतै छैन। प्रतिनिधिसभा र प्रदेशसभाका निम्ति पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। यदाकदा बम काण्डले तर्साउने काम गरे पनि मतदान राम्रै भएको मान्न सकिन्छ।

अहिले दोस्रो चरणको निर्वाचनले देशको राजनीतिक माहोल तात्दै गएको छ। एकातिर भ्रम र झुटको पुलिन्दाका रूपमा प्रतिस्पर्धी दलहरूले विगतकै घोषणापत्रहरूमा कतै केरमेट र कतै थपथाप गर्दै नयाँ घोषणापत्र जारी गरेका छन् भने मतदाताहरूको बीचमा पुग्न थालेका उम्मेदवारहरूले पनि आकाशपाताल जोडेर विकासको अदभूत लहर ल्याउने र मतदाताहरूको आकांक्षा पूरा गर्ने कसम खाइरहेका छन्।

निर्वाचन भनेको भ्रम फैलाउने र झुटको खेती गर्ने सुनौलो अवसर हो भनेझैं भएको छ। घोषणापत्रको तयारी र प्रचार शैलीमा कुनै नवीनता देखिएको छैन भने मतदाताले विश्वास गर्न सक्ने आधार पनि छैन।
अझै पैसाको बिटो लगेर जम्ने विहारी खेल यहाँ पनि देखिन थालेको छ। अहिलेको चुनावी माहोलले राजनीतिक संस्कार र जवाफदेहितापूर्ण चरित्रको अवशानलाई झनै टड्कारोरूपमा देखाइरहेको अनुभूत गराएको छ। २०४८ सालयताको चुनावी राजनीतिको माहोललाई हेर्दा जनप्रतिनिधित्वको गरिमा क्षयीकरण गर्ने अनपेक्षित प्रवृत्तिले तीव्र गति लिँदै कतै दुर्घटित अवशान त निम्त्याउने होइन भन्ने आशंका बढाइरहेको छ। बाह्यशक्तिको रणनीतिक कुचक्रमा फसेर सिंगो मुलुक प्रयोगशाला बनिरहेको तथ्यबोध विभिन्न घटनाक्रमहरूले गराउँदै आएका छन्। तर पनि सचेतनायुक्त सावधानी अपनाउने र मुलुकलाई त्यो दलदलबाट मुक्त गराएर आशा र विश्वासको नयाँ अध्याय थालनी गर्ने सुनौलो अवसरका रूपमा निर्वाचनको उपयोग हुनसक्ने सम्भावना छ।

सरकार चलाइरहेको नेपाली कांग्रेसले अलि जिम्मेवार बन्नु जरुरी छ। अझ भनौं शेरबहादुर देउवाले जिम्मेवारीबोध गर्नुपर्ने अवस्था छ। प्रमुख प्रतिस्पर्धी दलहरूबीच आरोप–प्रत्यारोपको जुन विषाक्त लहर उठेको देखिन्छ त्यसले लोकतान्त्रिक मर्यादाको उपहास मात्रै गरिरहेको छैन, मुलुकको भावी राजनीतिक दशा थप विकारपूर्ण बन्ने आशंका जन्माइरहेको छ। प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको बर्को ओढेर खेलिँदै गरेका विकारजन्य खेलहरूले मुलुकको कतिसम्म हुर्मत लुटिसक्यो भन्ने कुराको कुनै लेखाजोखा छैन।

मुलुकमा बाह्य हस्तक्षेपको गति रोकिएको छैन। अहिले पनि नाकामा केन्टेनर थन्किएकोदेखि प्याज महँगाएको सम्मका समाचार आइरहन्छन्। यसमा नाङ्गो तरिकाले नेपाललाई नियन्त्रणमा राखिएको स्पस्ट हुन्छ। वाम गठबन्धन पूर्ण बहुमतको स्थिर सरकारको नारा दिइरहेको छ भने अधिनायकवाद आउने डर देखाएर पुरानै हसियत जोगाउने ध्याउन्नमा नेपाली कांग्रेस लागेको छ। जनताले कसको कुरा कति पत्याउने हुन्, त्यो हेर्न बाँकी नै छ। त्यसको निक्र्योल त निर्वाचन परिणामले नै देला तर जुन राजनीतिक विकारको लहर चलेको छ त्यसले खडा गर्ने समस्याको निराकरण त्यति सहज देखिएको छैन। यसलाई सहजरूपमा निराकरण गर्नु नै अहिलेको बुद्धिमानी हो।

– सुरज चापागाईं, पाल्पा
के हो नैतिक शिक्षा ?
नैतिक शिक्षा ज्ञान र प्रयोग बाल्यावस्थाबाट नै हुनुपर्दछ। शिक्षाको माध्यम अनि त्यसको उचित प्रयोगबाट हरेक व्यक्तिले आफूलाई सक्षम बनाउन सक्दछ। शिक्षाकै माध्यमबाट व्यक्तिले आफ्नो क्षमता, व्यवहार, उद्देश्य, समाजप्रतिको अवधारणा र पर्यावरणसम्बधी सोचको विकास गर्दछ। यी सबै क्षमताहरुको अभिवृद्धिका लागि मानिस नैतिकवान हुनु त्यत्तिकै जरुरी हुन्छ। असल व्यक्ति, असल समाज, र असल चरित्रको निर्माण गर्न सक्दछौं, त्यही नै हो नैतिक शिक्षा।
नैतिक शब्दको अर्थ नीतिहरुको पालन गर्नु हो। जब मानिसबाट नीतिको पालन हुन्छ तबमात्र समाजमा सकारात्मक सोचको विकास हुन्छ। नागरिकमा आफ्नो दायित्वबोध हुँदै जान्छ। अनि समाज सकारात्मक तरिकाबाट अगाडि बढ्दै व्यक्ति अर्थात् मानिसमा सदाचार, विनम्रता, सद्भाव, प्रेमभाव, श्रद्धा, परोपकारजस्ता सकारात्मक पक्षले स्थान पाउँछन्। तर, आजको समाज यस मूल्य र मान्यताबाट निकै टाढा भएको आभास भइरहेको छ। नैतिक शिक्षा आजको अपरिहार्य आवश्यकता हुन पुगेको छ। त्यसैले यसको अध्ययन र प्रयोग पूर्वप्राथमिक तहबाट लागू हुनुपर्दछ। वास्तवमा नैतिक शिक्षामा विविध पक्ष समेटिएको हुनुपर्दछ।
यो शिक्षा मानव कल्याणका लागि हुनुपर्दछ। सामाजिक कुसंस्कार कुरीति र अन्धविश्वासलाई चिर्दै उज्यालो दिशातिर उन्मुख हुनुपर्दछ। समाजमा रहेका राम्रा पक्षलाई प्रेरित गर्ने खालको हुनुपर्दछ। समाज र राष्ट्रको विकासका लागि व्यक्तिगत सदाचार, स्वावलम्बीले ठूलो भूमिका खेलेको हुन्छ भन्ने कुरामा जोड दिनुपर्दछ। व्यक्तिको व्यवहार, विनम्रता, आदर, संस्कारजस्ता आधारभूत आवश्यक मान्यताहरुमा विशेष जोड दिनुपर्दछ। जसबाट बालबालिकाहरु भविष्यमा असल र कुशल नागरिक भई देश, समाज र विश्वमै अनुकरणीय उदाहरण बन्न सकुन्। र, सबैका सामु एउटा असल नागरिकका रूपमा आफूलाई प्रस्तुत गर्न सकुन्। नैतिक शिक्षा आफैंमा महत्त्वपूर्ण विषय हुँदाहँुदै पनि यसको प्रयोगका लागि केही चुनौती पनि रहेका छन्। यो शिक्षालाई धर्मसँग जोडेर हेरिनु र व्याख्या गरिनु, आदर्श एवं काल्पनिक विषयको रूपमा हेरिनु, व्यावहारिक तथा यथार्थपरकभन्दा पनि भावनात्मक हुनु, विज्ञानले प्रमाणित गरेका कुरालाई समेत आत्मसात गर्न नसक्नु आदि यसका चुनौतीहरू हुन्।
– खिम अभागी, काठमाडौं

मतदातामाथि आक्रमण होला नि ?
अहिले जतासुकै उम्मेदवारहरूमाथि आक्रमणका प्रयास भइरहेका छन्। सरकारले बेलैमा ध्यान नदिने हो भने अब मतदातामाथि पनि आक्रमण नहोला भन्न सकिन्न। आफ्नो पक्षमा मत नदिने मतदातालाई आक्रमण भयो भने अनि स्वतन्त्ररूपमा मतदान गर्न पाउने वातावरण बनेन भने निर्वाचन सम्पन्न हुनुले मात्र कुनै अर्थ राख्दैन। यो निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सुरक्षा चुनौतीप्रति सरकार गम्भीर बनोस्।
– सर्वेन्द्र अधिकारी, भरतपुर

प्रतिक्रिया दिनुहोस्