व्यक्तिवृत्त, सिर्जनाका सुन्दर विम्ब कृष्ण धरावासी



मोहन दुवाल
सबै मुक्तिका खोजीमा रहन्छन् र सबै–सबैजसो मुक्ति पाउने अभियानमा सक्रिय छन् तर सम्पूर्ण मुक्ति असम्भव छ। यस खालका मानवीय चेतका दार्शनिक सोचका पक्षपाती लेखक कृष्ण धरावासी मुक्ति भनेको आ–आफ्नो वैयक्तिक आस्था अनुकूल हुने कुरा परिभाषित गर्न रुचाउँछन्। दार्शनिक चिन्तनलाई साहित्यमा शैली खोपेर कथा, उपन्यास–बनाउन सिपालु कृष्ण धरावासी नयाँ पुस्ताका निकै चर्चित लेखक मानिन्छन्।

साहित्यको सबैजसो विधामा कलम चलाएर आफूलाई देखाइरहेका यिनी एकजना सक्रिय, सक्षम, उत्कृष्ट लेखकका रूपमा चिरपरिचित छन्। अभाव, कष्ट, दरिद्रतासँग पौंठीजोरी खेल्दै जीवन–पथमा आइपरेका दुःखका अनेकौं जञ्जालहरू तरेर आफूलाई एक सक्रिय लेखकका रूपमा चिनाइरहेका यिनी साहित्यका पाठकहरूका लागि मनपर्दो नाम हुन सफल छन्। काठमाडौंबाहिर रहेर पनि आफ्नो कृतिमार्फत आफूलाई चिनाउन सफल धरावासीका सिर्जनाहरू हराभरा र सुन्दर छन्। त्यति मात्र नभई झापा जिल्लामा यिनले पुयाइदिएका साहित्यिक योगदानहरू पनि उल्लेखयोग्य छन्। तर्कलाई सुन्दर कलेबरभित्र सजाएर उत्कृष्ट लेखनमा ढाल्न सक्ने यिनको कारिगरिता प्रसंशा गर्नलायकका छन्। त्यसैले भन्न सकिन्छ, सुन्दर लेख्नेहरू, राम्रो गर्नेहरू जता रहे पनि गन्तव्यमा पुग्छन् अर्थात् उनीहरूले बाजी मारेर छोड्छन्। यसै क्रममा रमेर यिनी साहित्यिक यात्रा र सिर्जनामा जीवन्त छन्।

साहित्यमा धरावासीले आफ्नो नाम र धाम सिर्जना गरे। त्यही नाम र धाम बोकेर यिनी कुदिरहे। थुप्रैले यिनको यात्रामा सम्मानमात्र गरेनन्, यिनका कृतिहरू मन पराएर पनि पढिदिए। स्तरीय लेखनमा आफ्नो छवि देखाउन सफल यिनका कृतिहरूमा शरणार्थी विशेष चर्चामा आएको कृति हो। आधा बाटोभित्र यिनलाई समग्ररूपमा देख्न र नियाल्न सकिन्छ। राधा मदन पुरस्कारप्राप्त कृति मात्र रहेन, सामान्य जनस्तरमा पनि लोकप्रिय हुन गएको कृति प्रमाणित भयो। मोफसलमा रहेर पनि धेरै चर्चामा आएका यिनी मोफसलबाट उदाएका अग्रणी साहित्यकार हुन्।

पुराना पुस्ताका चूडामणि रेग्मी, राधिका राया, श्यामकृष्ण श्रेष्ठका आयामहरूभन्दा फरक आयाम बोकेर झापालाई साहित्यिक ऊर्जाशील क्षेत्रका रूपमा देखाउन सफल साहित्यकार कृष्ण धरावासीको साहित्यिक जगत्मा भएको उपस्थिति गहकिलो र महत्वपूर्ण छ। यस अर्थमा चूडामणि रेग्मी, राधिका राया, श्यामकृष्ण श्रेष्ठपछि मेरो विम्बमा जनमतको फ्रेमभित्र कृष्ण धरावासीलाई राखेर सजाउन खोजिरहेछु। आफैं सिर्जनाको माध्यमबाट चुचुरोमा पुग्न सफल साहित्यकार धरावासीले उपन्यासमा आफ्नोपन देखाउन सफल छन्। कथामा आफ्नो झोलाको सार्थकता अगाडि राखेका छन्। निबन्धमा आफ्नो तर्कशीलता उच्चस्तरमा पेस गरेर आफूलाई निबन्धकारका रूपमा पनि चिनाएका छन्। कवितामा नयाँ विम्ब भर्न सिपालु हुनुका साथै समालोचनामा आफ्नो ढंगको व्याख्या गरेर चिरफार गर्न सक्षम समीक्षकका रूपमा पनि यिनी परिचित छन्। यी आदि प्रसङ्गभित्रकै एकजना साहसी साहित्यिक प्रतिविम्ब हुन् धरावासी।

२०१७ साल साउन २ गते अमरपुर–७, पाँचथरमा पिता स्व. टीकाराम भट्टराई र माता अम्बिका भट्टराईका छोराका रूपमा जन्मेका कृष्णप्रसाद भट्टराई नै साहित्यकार कृष्ण धरावासी हुन्। कृषि विकास बैंकबाट निवृत्त भएका यिनी समष्टी साहित्यिक पत्रकारितामा पनि आफ्नो बर्कत फुकाउँदै साहित्यिक पत्रकारका रुपमा चिनाउन सफल छन्। नपत्याउँदो सरल जीवनशैली बोकेर साधना र सिर्जनामा आफूलाई समाहित तुल्याउँदै लेखन क्षेत्रमा लागेका यिनले लेखेका कृतिहरूमा निबन्धसङ्ग्रहमा बालक हराएको सूचना (२०४८), नारीभित्र के छ हजुर (२०५३), उत्तमजङ्ग सिजापतिको आलु (२०५५) प्रकाशित छन्।

समालोचनाका प्रकाशित पुस्तकहरूमा विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरू (२०४८), लीलालेखन (२०५३), तेस्रो आयाम र बैरागी काइँला (२०६३) छन्। त्यस्तै अन्य विधामा काव्य÷कविता–२, उपन्यास–४, कथा–१, संस्मरण–१, मुद्दा–१ का प्रकाशित पुस्तकहरूमा क्रमशः उन्मुक्तिका आवाजहरू (२०५०), कान्छी राधा (२०६२), शरणार्थी (२०५६), आधा बाटो (२०५९), राधा (२०६२), तपाईं (२०६४), झोला (२०६०), मेरो साहित्यिक यात्रा र मदन पुरस्कार (२०६४), पाठकको अदालतमा (२०६२), टुँडाल (२०६४), आँधी नआउने घर (२०६७), पाण्डुलिपी (२०६७) आदि पुस्तकहरु प्रकाशित छन्। निबन्धमा एकखालको मीठासपन भरेर निबन्धलाई रोचक बनाइदिन सक्ने भएकैले यिनी सफल निबन्धकारका रूपमा पनि चिरपरिचित छन्। कवितामा चेतना र भावनालाई शब्दशैलीमा भरेर कविता बनाउन पनि यिनी सिपालु छन्। समीक्षा÷समालोचना र आफ्नै तर्क र दृष्टिमार्फत कृतिलाई अघि सार्न सफल समीक्षक रहेकै कारणले यिनी यस विधामा लेखिएका लेख–रचनाहरूमा पनि कमजोर छैनन्। यिनका संस्मरण लेखनमा आफ्नै दृष्टि र शैली व्याप्त रहनुका कारणले यस विधामा पनि यिनी प्रभावशाली छन्। कथा र उपन्यासमा त यिनी नेपाली साहित्यका अब्बल दर्जाका लेखक ठहरिएका छन्।

धरावासी धेरै चर्चामा आएका र धेरै पाठकहरूले रुचाइएका सफल साहित्यकार हुन्। यिनले साहित्य लेखन गरेरै आफूलाई समृद्ध तुल्याए, साहित्यसिर्जनाकै माध्यमले आफूलाई स्थापित गरेर देखाए। २०६३ सालमा राधा उपन्यासका लागि यिनले मदन पुरस्कार प्राप्त गरे। पुरस्कारबाट प्राप्त २ लाख रुपियाँ आफूले बनाउँदै गरेको तर अधुरो रहेको घरमा खर्च गरे। उक्त पुरस्कार प्राप्त गरेपछि यिनले लेखे– ‘यो पुरस्कारले मलाई पनि एकाएक ‘बूढो’जस्तो बनायो। मेरो अनौपचारिक व्यवहारलाई अलिक औपचारिकजस्तो, कस्तो–कस्तो बनायो। विवाह गरिसकेपछिको ‘छोरो’ जस्तो बनायो यस पुरस्कारले मलाई पनि। कताकता अरू थुप्रै खाले जिम्मेवारीहरू थपिएझैं लाग्यो। साहित्य क्षेत्र अब मेरो मुख्य क्षेत्र होजस्तो लाग्न थाल्यो। सोचाइमा पनि बढी नै गम्भीरता पलाउन खोजेको हो कि ! जे होस्, म एकाएक बूढोजस्तो भएँ मनले।’ यसका अतिरिक्त अन्य राष्ट्रियस्तरका दर्जनौं संस्थाहरूले यिनलाई साहित्यिक पुरस्कारहरू दिए।

राष्ट्रियस्तरका पुरस्कार मात्र पाएनन् यिनले आफ्नै जिल्ला झापाका विकास शाखा, स्मृति भवन, प्रतिष्ठान, युवा समूह, गाविस, वित्तीय संस्था, वाचनालय, नगरपालिका, साहित्य समाज, साहित्यिक त्रैमासिक, जेसिज, वातावरण संरक्षण समूह, लेखक संघ, स्रष्टा मञ्च, किराँत याक्लुङ चुम्लुङ, महिला जनचेतना केन्द्र, नागरिक समाज, शिक्षक युनियनलगायत ५० सौं संघसंस्थाले सम्मान÷कदरपत्र दिएर अभिनन्दन, सम्मान गरेको देखिन्छ। दर्जनौंभन्दा बढी पुस्तक पत्रिकाको सम्पादनसमेत गरिसकेका यिनी प्रतिष्ठान, संघ, युनियन, चौतारी, दोभान, प्रकाशन, सेवा कोषजस्ता दर्जनौं संस्थासँग आबद्ध छन्। २०४० सालदेखि २०५० सालसम्म विचार साप्ताहिकमा कार्यरत यिनले रेडियो नेपालका झापा संवाददाता, कञ्चनजंघा एफएम बिर्तामोडमा कार्यक्रम सञ्चालक रही सेवा पु¥याइसकेको देखिन्छ। २०६४ असोजदेखि केही समयसम्म क्यापिटल एफएमसँग पनि यिनी सम्बन्धित छन्। यिनको कृति र यिनको व्यक्तित्वलाई दशौं जनाले शोधकार्यमा राखेर नियालिरहेको देखिन्छ।

साहित्य लेखन र साहित्यिक क्षेत्रमा निरन्तर आफूलाई समाहित तुल्याउँदै देखाइरहेका कृष्ण धरावासीले आफ्नो संस्मरण पुस्तक मेरो साहित्यिक यात्रा र मदन पुरस्कारमा अन्तिममा लेखेका छन्– ‘साहित्यका क्षेत्रमा जानी नजानी उस दिन लाग्नु कति राम्रो भएछ भन्ने सोचिरहन्छु आज पनि। हस्त परियार सरले २०२८ सालमा भोलि शुक्रबार कविता लेखेर ल्याउनू नभनेको भए यो मदन पुरस्कारले कसरी भेट्थ्यो र मलाई ? यही साहित्यमा लागेर आसाम पुगेँ, बनारस पुगेँ, धनगढी पुगेँ, हवाईजहाज चढेर काठमाडौं आएँ। साह्रै पोसायो मलाई साहित्य। यसले धनी पनि बनायो। साना–ठूला १२ जति पुरस्कारबाट ३ लाख ५० हजार जति रकम र प्रशस्त बिक्रीबाट लेखकस्वबापत ३ लाख जति रकम पाएँ। नेपाली लेखकले यति पैसा पाउनु सामान्य कुरा होइन।’ लेखनको महत्वबारे यिनले यसै पुस्तकमा लेखेका छन्– ‘लेखेर के हुन्छ र भन्ने प्रश्न पनि सानो छैन, तर लेखेर खूब हुन्छ भन्ने लाग्न थालेको छ अचेल आफूलाई।’

साहित्य र सिर्जनालाई जीवन मानेर हिँड्नेहरू थोरै छन् यस देशमा। त्यही थोरैमा पर्छन् कृष्ण धरावासी। वि.सं. २०३२ मा झापाबाट सूर्योदय साप्ताहिकमा कविता प्रकाशित गराएर साहित्य क्षेत्रमा प्रवेश गरेका यिनले साहित्यकार परिचय र अभिव्यक्ति पुस्तकमा २०४५ सालतिर नै यसरी लेखेका छन्– ‘कृतिको मूल्याङ्कन गर्दा कुनै पूर्वाग्रह वा प्रभावकारी हुनुहुँदैन। एउटा निष्पक्ष र स्वतन्त्र चिन्तकको हैसियतबाट कलम उठाउनुपर्छ, जसले लेखकको सिर्जनात्मकतामा घाउ नलागोस् र लेखकभित्रको अनावश्यकतालाई छिमलिदेओस्।’

अभाव र सङ्घर्षबाट उठेको नाम हो कृष्ण धरावासी। यिनी सङ्कटमा थाक्न जानेनन्, अभावबाट तर्सिएनन्। त्यसैले त यिनी भए कृष्ण धरावासी। त्यसैले यिनले लेखे– ‘जीवन भनेकै कठिनाइहरूको सङ्ग्रह हो। जीवनमा सजिलो भन्ने त कहाँ के छ ? निरन्तर द्वन्द्वात्मक छ जीवन। सरदर नेपालीको जीवनमा कठिनाइ भन्नु गरिबी र भोक नै हो। त्यो त मेरो जीवनको सबैभन्दा प्रिय अनुभव हुँदै हो। खाते जीवनबाट उठेको मलाई गरिबीसँग कहिल्यै डर भएन। अहिले त हरेक क्षण उत्तरोत्तर प्रगतिमा छु।’ जीवनलाई सङ्घर्षमा राखेर नियाल्न सिपालु एक साहित्यिक योद्धा कृष्ण धरावासी लीलालेखन भन्दै साहित्यमा साहित्य खोज्दै छन्।

प्रतिक्रिया दिनुहोस्