कम्युनिस्ट सरकार बने अर्थतन्त्र बलियोः अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकार आएपछि नेपालको अर्थतन्त्र बलियो हुने बतएका छन । नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको, ‘अबको संकल्प आर्थिक समृद्धि ः राष्ट्रिय आर्थिक बहस’ विषयक अन्तक्र्रियामा अध्यक्ष ओलीले कम्युनिस्ट सरकार आएपछि अर्थतन्त्र तहसनहस नभई झन बलियो हुने बताए । उनले कम्युनिस्ट सरकारमा बन्द, हडताल भन्ने कुरा नहुने र रोजगारका लागि विदेश गएका ४० लाख युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउने दाबी गरे । वाम गठबन्धनको चुनावी घोषणापत्र आर्थिक समृद्धिका दृष्टिकोणले महत्वकांक्षी भएजस्तो देखिए पनि पूरा गर्न सकिने योजना भएको अध्यक्ष ओलीको भनाइ थियो । पश्चिमा देशले गरेको विकासभन्दा नेपालले तीव्ररुपमा विकास गर्न सक्ने र पश्चिमा देशले विकास गर्दा सूचना प्रविधिको विकास नभएको हुँदा जति समय लाग्यो अब नेपालको विकास गर्न त्योभन्दा कम समय लाग्ने अध्यक्ष ओलीले बताए । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य (सन् २०१७ देखि सन् २०३० सम्म) मा हस्ताक्षर गर्ने १९३ देशमध्ये नेपाल पनि रहेको भन्दै उनले द्रुत विकास तर दिगो विकास शैलीमा नेपालको विकास गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्