ढल फुटेर पुरानो बसपार्क दुर्गन्धित, महानगरको ध्यान किन जाँदैन ?



काठमाडौँ । पुरानो बसपार्क क्षेत्रमा अहिले ढल फुटेर दुर्गन्धित हुँदा आवत जावत गर्न बटुवालाई कठिनाई भएको छ।

काठमाडौ महानगरपालिकाले समयमै ध्यान नदिँदा बटुवा नाक थुनेर हिडडुल गर्न बाध्य छन्। ढल फुटेर दुर्गन्धित हुन थालेको तीन महिनाभन्दा बढी समय वितिसकेको छ।

खुलामञ्चको केही भागलाई टिनको वारलगाई अस्थायी वसपार्कका रुपमा सञ्चालन गरिएको थियो। स्थानान्तरणसंगै उपत्यका भित्र र वाहिर समेत आवतजावत गर्ने प्रमुखस्थलका रुपमा रहेको सो स्थान अव्यवस्थित बन्न पुगेको थियो।

विगत तीन महिनादेखि महानगरपालिकाको वडा नं २८ मा पर्ने खुलामञ्च पुरानो बसपार्क क्षेत्रबाट ढल फुटेर सडकमा बग्दा महानगरको ध्यान गएको  छैन।

सडक र पैदलमार्ग माथिबाट ढलको लेदो बग्दा त्यसमाथि टेक्दै हिँड्नुपरेको भक्तपुर सूर्यविनायककी राममाया कोजुले गुनासो गरिन्। बसपार्कको खुलामञ्च, सैनिक मञ्चतिरको भागबाट ढल बगिरहेको देखिन्छ।

त्यसैगरी वीर अस्पतालको आवासीय भवनअघिको पैदलमार्गमा पनि ढल फुटेर हिँडडुल गर्न नसकिने भएको उपचारका लागि मकवानपुरबाट आउएका रञ्जित तामाङले बताए।

उनले भने,‘मानिस बिरामी भएर उपचारका लागि अस्पताल आउँछन्, उपचार गर्ने अस्पतालको आँगनमा ढल फुट्दा किटाणुले बिरामीलाई थप संक्रमण गर्ने अवस्था छ, फुटेको ढल नबनाउँदा अस्पताल आएका बिरामीलाई बढी असर पर्ने देखिन्छ।’

महानगरपालिकाले चार दिनअघि नै फुटेको ढल पुनःनिर्माणका लागि लगत अनुमान गरेपनि काम सुरु नभएको स्थानीयवासी बताउँछन्। महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले १० दिनभित्र ढल व्यवस्थित गरिने जानकारी दिइन्।

उनले भनिन,‘पाँच दिनअघि रत्नपार्क क्षेत्रलाई धुलो मुक्त गर्न के गर्नुपर्छ भनी स्थलगतरुपमा अध्ययन गर्न जाने क्रममा मैले बसपार्कअघि ढल बगेको देखेँ, भोलिपल्ट नै महानगर निर्माण विभागलाई लगत अनुमान तयार गरी ढल बन्द गर्न निर्देशन दिइएको छ।’रासस

प्रतिक्रिया दिनुहोस्