टाटाको योद्धा नेपाली बजारमा

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा योद्धा सार्वजनिक गरेको छ। टाटा मोटर्स्द्वारा उत्पादित टाटा योद्धाले प्रतिस्प्रर्धात्मक युगमा अतुलनीय विशेषताको प्रतिनिधित्व गर्ने बताइएको छ।

टाटा योद्धा विभिन्न भेरियन्टमा उपलब्ध छन्। गाडीमा भएको ८५ एचपीको शक्तिशाली ३ लि इन्जिन, २५० एनएम टर्कले यसलाई आफ्नो वर्गको उत्कृष्ट गाडी साबित गर्न मद्दत गरेको कम्पनीको दाबी छ। गाडीमा उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ।

उद्घाटन कार्यक्रममा बोल्दै टाटा मोटर्सका कमर्सियल भेहिकल इन्टरनेसनल विजनेस युनिटका उपाध्यक्ष रुद्ररूप मैत्रले टाटा मोटर्स नेपालको नम्बर एक ब्रान्डको रूपमा चिनिएको र टाटा योद्धाले नेपाली ग्राहकको आवश्यकतालाई पूरा गरेर उहाँको मन जित्ने कुरामा आफू विश्वस्त रहेको कुरा बताउनुभयो।

साथै उहाँले टाटा योद्धा ग्राहकको दैनिक प्रयोगका लागि उत्कृष्ट माध्यम साबित हुने र यसले जुनसुकै व्यवसायको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वस्तता जनाउनुभयो। उहाँले टाटा योद्धाले ननस्टप पर्फमेन्स, अत्याधुनिक आरामदायीता, सुरक्षित, स्टाइलिस लुक र एस्योर्ड सर्भिस ग्यारेण्टी प्रदान गर्ने पनि जानकारी गराउनुभयो।

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ प्रालिका अध्यक्ष सिद्धार्थ एस जेबी रानाले कम्पनीले सिप्रदीले नेपालमा टाटा मोटर्स्का उत्पादनको बिक्री वितरण तथा सर्भिसमा सधैं उत्कृष्ट साथ दिइरहेको र आगामी दिनमा समेत निरन्तर दिइरहने कुरा बताउनुभयो।

सिप्रदीले टाटा मोटर्ससँग सन् १९८२ देखि सहकार्य गर्दै आइरहेको छ। अबको ६ महिनामा योद्धा प्ल्याटफर्मअन्तर्गत नयाँ भेरियन्ट थप्ने कम्पनीको दाबी छ।

टाटा मोटर्स लिमिटेड विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो। कम्पनीले कार, युटीलिटी भेहिकल, बस, ट्रक, डिफेन्स भेहिकल आदिको उत्पादन गर्दै आइरहेको छ।

सिप्रदीले टाटा मोटर्सद्वारा उत्पादित कमर्सियल तथा प्यासेन्जर गाडीको नेपालभर बिक्री वितरण तथा सर्भिस प्रदान गर्दै आइरहेको छ। टाटा मोटर्सबाट उत्पादित कमर्सियल भेहिकलका लागि सिप्रदीको १८ वटा सेल्स अफिस र २४ वटा सर्भिस सेन्टर छन्। कम्पनीका प्यासेन्जर भेहिकलका लागि १६ वटा शोरुम र २४ वटा सर्भिस सेन्टर नेपालभर छरिएका छन्।