नगोसिएसनमा निगमले एयरक्राफ्ट बिक्री गर्दै

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल वायुसेवा निगमले विगतमा दुई पटकसम्म न्यूनतम १७ करोड रुपियाँ मूल्यांकन गरेर बिक्री नभएको बी ७५७–२००, ९ एन–एसीए एयरक्राफ्ट आपसी समझदारीमा बिक्री गर्न तयारी थालेको छ।

विगतमा तय गरिएको मूल्यमा कुनै आवेदन नपरे पनि अहिले उक्त बोइङ किन्न सात वटा कम्पनी र व्यक्तिगतसम्मको प्रस्ताव आएको निगमले जनाएको छ। अब निगमले सबै प्रस्तावकलाई राखेर छलफल गर्ने र समझदारीमा आउने प्रस्तावमध्येबाट एक कम्पनीलाई जहाज बिक्री गर्ने जनाएको छ।

निगमले दुई साताको समय सीमा राखेर आपसी छलफलबाट बिक्री गर्ने प्रस्तावमा भने नेपालकै वायुसेवा कम्पनीदेखि विदेशीसम्मले आवेदन दिएको वायुसेवा निगमका सहप्रवक्ता शैलेन्द्र कंसकारले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो प्रस्तावमा १२ करोडदेखि १६ करोड रुपियाँसम्मको मूल्य राखेर ७ वटा कम्पनीले प्रस्ताव राखेका छन् ।

एक साताभित्रै प्रस्ताव पेश गरेका कम्पनीलाई छलफलमा आउन पनि निगमले सूचना जारी गरिसकेको छ। उक्त समय सीमा भोलि सकिँदै छ। निगमले दिएको जानकारीअनुसार आपसी छलफलबाट जहाज किन्न एक अमेरिकी कम्पनी र एक इजरायली कम्पनीले प्रस्ताव गरेका छन् भने बाँकी नेपाली प्रस्ताव परेको छ।
निगमका अनुसार जहाज खरिद गर्न आवेदन दिनेमा जनार्दनमान डंगोल, बीबी एयरवेज, टीबीआई गु्रप, अनु मानन्धर, एपीएस एयरपोर्टस् सर्भिस एन्ड सप्लार्स इजरायल, अमेरिकाको एभिएसन सिस्टम इंक, नेपालकै हिमालय एभिएसन कन्सल्यान्टले खरिद गर्ने प्रस्ताव राखेका छन्।

निगमका अनुसार निगमको प्रस्तावमा जुन कम्पनी सहमत हुन्छ, जहाज उसैले लान सफल हुन्छ। सकेसम्म धेरै मूल्य प्रस्ताव गर्नेलाई नै जहाज दिने सहप्रवक्ता कंसकारको भनाइ छ। जहाज मर्मत खर्च धेरै लाग्ने भएपछि बनाएर बेच्नेभन्दा सोही अवस्थामा नै बिक्री गर्ने र रकम थप गरी नयाँ खरिद गर्ने योजना निगमको रहेको छ। अहिलेको समयमा जहाज खरिद गर्दा कम्तिमा ५ अर्ब रुपियाँ लाग्ने अनुमान छ । कवाडीको मूल्यमा बिक्री गर्दा भने पनि यो जहाजलाई १६ करोड रुपियाँ पर्ने जानकार बताउँछन्।

अन्तर्राष्ट्रिय उडानको लागि निगमसँग दुई वटा एयरबस ए ३२० रहेका छन्। यो बाहेक निगमले आगामी एक वर्षभित्रमै लामो दूरीमा उडान गर्न सक्ने थप दुई वटा वाइडवडी जहाज ल्याउँदै छ। निगमसँग साढे दुई दशक पुराना दुई वटा यस्तो जहाजमध्ये एउटा भने उडानमै रहेको छ।