रुसी हस्तक्षेप प्रकरण, ट्रम्पले भनेजस्तो कसैलाई निसाना बनाउन गरिएको कारबाही होइनः रे


वासिङ्गटन, (एजेन्सी)
अमेरिकी गुप्तचर एजेन्सी एफबीआईका नयाँ निर्देशक क्रिस्टोफर रेले अमेरिकी राष्ट्रपति चुनावमा रुसको कथित हस्तक्षेपको जाँचलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेको जस्तो ‘कसैलाई निसाना बनाएर गरिएको कारबाही’ नभएको बताए।

रेले उक्त मामिलामा छानबिन गरिरहेका एफबीआईका पूर्वनिर्देशक रोबर्ट मुलरका बारेमा उनले भने– ‘मुलरले कसैलाई निसाना बनाएर जाँच गरेको छ भन्ने मलाई लाग्दैन।’

५० वर्षीय रेले संसदीय समितिसमक्ष भएको सुनवाइमा यदि राष्ट्रपतिले उनलाई कुनै पनि गैरकानुनी काम गर्न दबाब दिएमा पद छोड्ने बताए। राष्ट्रपति ट्रम्पले मे ९ मा जेम्स कोमीलाई एफबीआईको निर्देशक पदबाट बर्खास्त गरेको थियो। ट्रम्पले कोमीलाई ‘रुसी’ भएको आरोप लगाएका थिए। उक्त कदमलाई वासिङ्गटनमा व्यापक विरोध पनि भएको थियो।

यद्यपि त्यसको बाबजुद एफबीआईको जाँच रोकेको छैन। मे १८ मा न्याय विभागले पूर्व एफबीआई निर्देशक रोबर्ट मुलरलाई यस मामिलाको जाँचका विशेष अधिवक्तामा नियुक्त गरेको यिो। यसअघि राष्ट्रपति ट्रम्पले बुधबार ट्विट गरेका थिए– ‘राजनितिक इतिहासमा यो कसैलाई निसाना बनाएर भइरहेको सबैभन्दा ठूलो छानबिन हो। दुखद।’

रेले भने– ‘यदि कसैले मलाई एफबीआई निर्देशकले जस्तो हात झिक्छ भन्ने सोच्छ भने निश्चित रूपमा उसले मलाई चिनेको छैन।’

एफबीआईको काम तथ्य, कानुन र न्यायको हदबाट पर हुनेजस्ता कुनै पनि काम आफूले हुन नदिने उनले बताए। रेले आफू मुलरको जाँचको समर्थन गर्न प्रतिबद्ध रहेको पनि बताए।

संसदीय समितिले रेसँग राष्ट्रपति ट्रम्पका जेठो छोरा डोनाल्ड ट्रम्प जुनियरको इमेलका विषयमा पनि सोधपुछ गरे। जसमा उनले रुसी वकिलसँग भेटेको कुरा बाहिर आएको थियो।

रेले ती इमेलका विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। रेले भने– ‘मेरो बफादारी संविधान, कानुन र एफबीआईको अभीष्टप्रति भएको र कसैले पनि यस प्रक्रियाका क्रममा कुनै प्रकारको बफादारी निभाउने वचन लिएको छैन।’