शर्मासँग तीन अर्ब धरौटी माग, धरौटी रकम अहिलेसम्मकै ठूलो



 

काठमाडौं, (नेस)
भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन अर्ब रुपियाँ धरौटी माग गरेको छ।

शर्माले आफू हिरासतबाट छुट्न चाहेकाले त्यसका लागि अख्तियारले ३ अर्ब रुपियाँ धरौटी माग गरेको हो। आयोगले शर्मा संलग्न रहेको १ करोडभन्दा माथिका १ सय २० फाइल अध्ययन गर्दा ६० देखि ७० अर्ब रुपियाँको हाराहारीमा अनियमतिता भएको देखिएको छ। यसमा ९ अर्ब रुपियाँभन्दा बढी करगैरकानुनी रूपमा छुट दिइएको भेटिएको अख्तियारले जनाएको छ। शर्मा संलग्न अझै १ हजारभन्दा बढी फाइल अध्ययन गर्न बाँकी रहेको आयोगले जनाएको छ।

चूडामणि शर्मा एक महिनादेखि अख्तियारको हिरासतमा छन्। शर्माले गरेका अनियमितताको विषयमा निरन्तर अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै रिजालले भन्नुभयो– ‘शर्माले आफू हिरासतमुक्त हुन चाहेपछि त्यसका लागि ३ अर्ब रुपियाँ धरौटी रकम माग गर्ने निर्णय अख्तियारले गरेको हो।’ शर्माबाट माग गरिएको रकम बिगो भने नभएको उहाँले बताउनुभयो।

‘सबै फाइलमाथि अध्ययन भइरहेको छ। यो कहिलेसम्म चल्ने भन्ने विषयमा अझै केही भन्न सकिँदैन।’ –उहाँले भन्नुभयो। ‘उहाँले ३ अर्ब धरौटी बुझाउनुभयो भने अख्तियारले हिरासतमुक्त गर्छ, तर निरन्तर अनुसन्धान भने गरिरहन्छ।’ –पौडेलले थप्नुभयो।

शर्माको विषयमा सर्वोच्च अदालतले दिन नतोकी अनुसन्धान जारी राख्न निर्देशन दिएको छ। यसको मतलब शर्मालाई हिरासतमा राख्ने म्याद थप्न अदालत लगिरहनुपर्दैन।

सह–सचिव शर्मामाथि कर फछर्इेट आयोगमार्फत अवैधानिकरूपमा २० अर्बभन्दा बढी कर मिनाहा दिइएको आरोप लगाइएको छ।

शर्मासँग पहिलो चरणको बयान लिने काम बिहीबार सकिएको अख्तियारले जनाएको छ। कर फछर्इेट आयोगले ९ अर्ब ५४ करोड ६१ लाख सम्झौता गरी ३० अर्ब ५२ करोड ५८ लाख राजस्व मिनाहा गरेको आरोपमा अख्तियारले छानबिन गरिरहेको छ। कर फछर्इेट आयोगमार्फत जथाभावी राजस्व मिनाहा दिएको आरोपमा शर्मा गत जेठ १९ गते पक्राउ परेका थिए। अख्तियारले शर्मासँग मागेको धरौटी रकम अहिलेसम्मकै ठूलो हो। अख्तियारले मागेको रकम धरौटी बुझाएमा शर्मा हिरासतमुक्त भएर मुद्दा लड्न सक्ने कानुनी व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्