दलालका कारण शेयर कारोबार बन्द



 

रोविन पौडेल, काठमाडौं
नेप्से बजार खुले पनि शेयर दलाल किनबेचमा संलग्न नहुँदा बिहीबार शेयर बजार कारोबार बन्द भएको छ। आन्तरिक राजस्व विभागले शेयर दलाल व्यवसायीलाई भ्याटमा दर्ता गर्न पत्राचार गरेको भन्दै बिहीबार शेयर कारोबार बन्द गरेका हुन्।

आन्तरिक राजस्व विभागका विभिन्न कार्यालयले कर उठाउने पत्र पठाएको विरोधमा बिहीबार नेपाल स्टक दलाल संघको बिहीबार बिहान आपत्कालीन बैठक बसेको थियो। बैठकले धितोपत्र कारोबार ऐन २०६४ मा उल्लेख नभएको मूल्य अभिवृद्धि कर सरकारले लगाउन ताकेता गरेकाले बिहीबार सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेको थियो।

अर्कोतर्फ आन्तरिक राजस्व विभागले आफ्नो कार्यालयले पत्र नपठाएको दाबी गरेको छ। मूल्य अभिवृद्धि कर उठाउने परिपत्रको विषयमा विभागलाई जानकारी नभएको आन्तरिक राजस्व विभागका उपमहानिर्देश राजेन्द्रकुमार पौडलले बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०६९⁄७० देखिको सबै कारोबारको कर नतिरेको भन्दै बेरुजुमा राख्दा शेयर दलाल पनि परेका थिए। चालू आव सकिनै लाग्दा आन्तरिक राजस्व विभागका विभिन्न कार्यालयले नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घलाई कर तिर्न पत्राचार गरेको हो।’ यसैबीच कारोबार बन्द हुँदा लगानीकर्ता आक्रोशित बनेका छन्। बिहीबार कारोबार बन्द भएकामा सीमित दलाल व्यवसायीको सिन्डिकेटले मनोमानी बनाएको भन्दै लगानीकर्ता आक्रोशित बनेका हुन्।

शेयर लगानीकर्ता संघ नेपालले सम्बन्धित कारोबारवाला पक्षसँग छलफल नै नगरी बजार बन्द गरेकामा आपत्ति जनाएको छ। संघले बिहीबार विज्ञप्ति जारी गर्दै बजार खुलाउन सरोकारवाला निकायले कडा कारबाही गर्नुपर्ने माग गरेको छ। लगानीकर्ताले तोकेको कमिसन तिरिरहँदा पनि कारोबारबाट वञ्चित गराएको भन्दै संघले क्षतिपूर्तिको माग गरेको छ।

आन्तरिक राजस्व विभागका अनुसार धितोपत्र दलालले सरकारलाई तिर्नुपर्ने कर ५ अर्ब रुपियाँको हाराहारीमा छ। एउटा ब्रोकर अफिसबाट एकै दिनमा २० करोड रुपियाँसम्म कारोबार हुने भएकाले यो कर ठूलो मात्राको नभएको विभागको भनाइ छ।

शेयर कारोबारमा लगानीकर्ताबाट असुली गरिएको सेवा शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भन्दै महालेखापरीक्षकको कार्यालयले २०७१ सालमै सरकारी निकायलाई भ्याट जम्मा गर्न निर्देशन दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्