चीनले चन्द्रमामा आलु खेती गर्ने


बइजिङ, (एजेन्सी)
चीनका वैज्ञानिकहरु आगामी चन्द्र अभियानका क्रममा चन्द्रमामा आलु खेती गर्ने प्रयासमा जुटेका छन्।

चिनियाँ न्युज वेबसाइट चुङचिङ मर्निङ पोस्टमा यस विषयमा एउटा समाचार सामग्री छापिएको छ। उक्त प्रतिवेदनमा चीन आगामी वर्ष चेङइ–४ नामक चन्द्र अभियानको तयारीमा लागेको उल्लेख छ। उक्त अभियानका क्रममा ‘मिनी इकोसिस्टम’ प्रविधिको मदतबाट चिनियाँ वैज्ञानिक चन्द्रमामा आलुको खेती गर्ने प्रयास गर्नेछ।

उक्त विषयमा चाङकिङ युनिभर्सिटीका प्रोफेसर झी गेंग्जिनले यसका लागि चिनियाँ वैज्ञानिकहरुले प्रयोगको शृंखला थाल्ने बताए। रेसमकिराका लार्भालाई चन्द्रमामा छाडिनेछ। त्यसलाई निगरानी गर्न एउटा सानो उपग्रह पनि चन्द्रमामा छोडिनेछ।

यसबाट प्राप्त हुने नतिजाका आधारमा मनुष्यले चन्द्रमामा बस्न कति उपयुक्त हुन्छ भन्ने तय गरिने चीनको रेडियो इन्टरनेसनलले जनाएको छ।

सन् २०१५ मा एन्डी वियरको किताबमा आधारित साइन्स फिक्सन फिल्म ‘द मार्टियन’ प्रदर्शन भएको थियो। जसमा आलुको महत्वपूर्ण भूमिका रहेको थियो। उक्त फिल्ममा मंगलग्रहमा फसेका एक अन्तरिक्ष यात्रीले जीवित रहनका लागि आलुको खेती गरेको देखाइएको थियो।

चीनलाई अन्तरिक्ष अनुसन्धान तथा यात्राका लागि अमेरिकाले कुनै सहयोग तथा सहकार्य नगर्ने नीति लिएको छ। चीनले अन्तरिक्ष विज्ञान तथा अनुसन्धान र प्रविधि हासिल गर्न अर्बौं लगानी गर्दै आइरहेको छ। गत वर्ष चीनले एउटा रोवरलाई चन्द्रमामा सफल अवतरण गराएको थियो।