मुम्बई बमकाण्डमा छ जना दोषी करार


मुम्बई, (एजेन्सी)
भारतको पश्चिमी मुम्बई शहरको एक अदालतले शुक्रबार सन् १९९३ मा त्यहाँ भएका शृंखलाबद्ध बम विस्फोटनमा संलग्न रहेको भन्दै छ जना व्यक्तिलाई अभियुक्त ठहर गरेको छ।

तिनीहरुमध्ये ती बम विस्फोटपछि भारतबाट भागेका तथा सन् २००५ मा पोच्र्युगलले भारतसमक्ष सुपुर्दगी गरिएका अबु सलेम पनि रहेका छन्। केही महिनाअघि भएको एक साम्प्रदायिक दंगाको बदला लिने उद्देश्यले गराइएका मुम्बई बम विस्फोटनमा २ सय ५७ जना व्यक्ति मारिएका थिए।

बम्बई स्टक एक्सचेन्ज, एक भव्य होटेल तथा राष्ट्रिय ध्वजावाहक एयर इन्डियाका कार्यालयलगायत एक दर्जन स्थानमा झन्डै एकै समयमा बम विस्फोट गराइएको थियो। मुद्दा टुंगिन झन्डै २५ वर्ष लागेको छ। मुद्दाको दोस्रो चरणको दौरान हिजो तिनीहरुलाई दोषी करार गरिएको हो।

सन् २००३ देखि २०१० बीचमा गिरफ्तार गरिएका सात जना व्यक्तिलाई छुट्टा छुट्टै मुद्दा चलाइएको थियो। एकजनालाई भने अदालतले सफाइ दिएको छ। भारतको अपराध जगतका कुख्यात नाइकेको रुपमा चिनिने दाउद इब्राहिमसँग आबद्ध रहेको मानिने अबु सलेमलाई सन् २०१५ मा एक जना २० वर्षीय युवकको हत्याको आरोपमा गिरफ्तार गरिएको थियो।

 

मुम्बई बमकाण्डका मुख्य सूत्रधार तथा आर्थिक सहयोगी याकुव मेमोनलाई सन् २०१५ मै मृत्युदण्ड दिइएको थियो। त्यसै गरी मुम्बईमा सन् २००३ को अगस्टमा भएका चारवटा बम विस्फोटमा ५२ जना, सन् २००६ को जुलाईमा भएका सातवटा बम विस्फोटमा १ सय ८० जनाभन्दा बढी र सन् २०११ को जुलाईमा भएका बम विस्फोटमा १८ जना व्यक्ति मारिएका थिए।