बगदादी मारिएको खबरको रुसद्वारा जाँच


मस्को, (एजेन्सी)
रुसको रक्षा मन्त्रालयले उसको एक हवाई आक्रमणमा इस्लामिक स्टेटका नेता अबु बकर अल बगदादीको मृत्यु भएको सूचनालाई लिएर जाँच गरिरहेको जानकारी दिएको छ।

रुसले इस्लामिक स्टेटको गढ राक्कामा बगदादीलाई निसाना बनाउँदै हवाई आक्रमण गरेको थियो। मे २८ मा भएको एक हवाई आक्रमणका कारण बगदादीको मृत्यु भएको हुन सक्ने मन्त्रालयले जनाएको छ।

इस्लामिक स्टेटसँग लडिरहेको अमेरिकी नेतृत्वको गठबन्धनका प्रवक्ता जोन डेरियनले आक्रमणमा बगदादी मारिएको हो वा होइन भन्ने विषयमा अमेरिकाले पुष्टि गर्न नसक्ने बताए।

सिरियाको सरकारले पनि यसको कुनै आधिकारिक पुष्टि गर्न अस्वीकार गरेको छ। यसअघि सिरियाली सरकारी टेलिभिजनले एक आक्रमणमा इस्लामिक स्टेटका नेता बगदादी घाइते भएको र उपचारका क्रममा मरेको समाचार दिएको थियो।

रुसको रक्षा मन्त्रालयले दिएको एक बयानमा उक्त हवाई आक्रममा करिब ३० आईएस कमान्डर र ३ सयभन्दा धेरै लडाकू मारिएको हुन सक्ने उल्लेख गरेको छ। उनीहरु सबै राकामा एउटा ठूलो बैठकका लागि भेला भएका थिए। हामीलाई प्राप्त सूचनामा यस बैठकमा आईएस नेता अबु बकर अल बगदादी पनि उपस्थित थिए भन्ने थियो।

रोयटर्स समाचार एजेन्सीले हालै मात्र मोसुल वा राकामा नभई बगदादी हजारौं माइलको रेगिस्तानमा लुकेर बसेको दाबी गरेको छ।

बगदादी सन् २०१४ पछि कुनै पनि सार्वजनिक बैठकमा उपस्थित रहेका छैनन्। बगदादीको जन्म सन् १९७१ मा बग्दादको उत्तरमा पर्ने समारामा भएको हो। सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गर्दा बगदादी शहरको एउटा मस्जिदमा मौलवी रहेको पुरानो प्रतिवदेनमा उल्लेख छ।

केहीले बगदादी सद्दाम हुसेनको शासनकालमा पनि एक कट्टरपन्थी जिहादी भएको बताउँछन्। उनले बक्कास्थित अमेरिकी शिविरमा पनि करिब ४ वर्ष बिताएको र त्यही बेलादेखि उनी एक कट्टरपन्थी बनेको बताइएको छ। उक्त शिविरमा अलकायदाका अन्य थुप्रै कमान्डरलाई पनि हिरासतमा लिइएको थियो।

इराकमा अलकायदाको नेताका रुपमा र इस्लामिक स्टेटका नेताका रुपमा बगदादीले सन् २०१० मा नयाँ पहिचान पाएको थियो।