आन्दोलन चर्काउन मधेसी नेता पश्चिमतिर

0
Shares

काठमाडौं, (नेस)
राष्ट्रिय जनता पार्टी नेतृत्वको संघीय गठबन्धनले ५ नम्बर प्रदेशमा आन्दोलन चर्काउने निर्णय गरेको छ।

२ नम्बर प्रदेशको निर्वाचन एकतर्फी रुपमा सारेको र ५ नम्बर प्रदेशमा निर्वाचन गराउन लागेको भन्दै राजपासहित संघीय गठबन्धन ५ नम्बर प्रदेशमा केन्द्रित भएर आन्दोलन चर्काउन निर्णय गरेको। जसका लागि राजपा अध्यक्ष मण्डलका नेताहरू शनिबार पश्चिमका जिल्लाहरूमा जाने भएका छन्।

निर्वाचन बिथोल्ने आन्दोलन जारी
राख्ने निर्णय

यसअघि घोषित आन्दोलनका कार्यक्रमलाई यथावत् राख्दै राजपाले मनोनयन दर्तालाई बिथोल्न आइतबार पनि आमहड्तालको घोषणा गरेको छ। थप कार्यक्रमअनुसार शनिबार साँझ पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म मसाल जुलुस प्रदर्शन गरिने राजपाका नेता अनिल झाले नेपाल समाचारपत्रलाई बताउनुभयो।

शुक्रबार दिउँसो बसेको राजपाको बैठकले माग सम्बोधन नभएसम्म निर्वाचनमा भाग नलिने अडान यथावत राख्दै निर्वाचनसम्बन्धी गतिविधिको विरोध गर्ने निर्णय गरेको छ।

संघीय गठबन्धन र सरकारबीचको सम्झौता विपरीत सरकारले एकतर्फी रुपमा निर्वाचनको घोषणा गरेको भन्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको नेता राजकिशोर यादवले बताउनु भयो।

५ नम्बर प्रदेशमा आन्दोलन चर्काउन संघीय गठबन्धनका संयोजक महन्थ ठाकुरसहित राजेन्द्र महतो, अनिलकुमार झा, राजकिशोर यादव शनिबार पश्चिमका जिल्लामा जान लाग्नु भएको हो। उहाँहरू विभिन्न स्थानमा हुने आन्दोलनका कार्यक्रमहरूमा सहभागीता जनाउनुहुने भएको छ।