डोटीका प्रत्येक स्थानीय तहमा २ पर्यवेक्षक खटाइने

0
Shares

विमल विष्ट,डोटी ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले डोटी जिल्लाका ९ वटै स्थानीय तहमा निर्वाचन पर्यवेक्षक खटाउने तयारी गरेको छ ।

निर्वाचन पर्यबेक्षकहरुका लागि आयोजना गरेको निर्वाचन पर्यवेक्षण सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रमम उक्त कुराको जानकारी दिईएको हो ।

निर्वाचन स्वच्छ, निश्पक्ष र मर्यादित होस् भन्नका लागि पर्यवेक्षक खटाउन लागेको नियोक जिल्ला समिति कोषाध्यक्ष मोहन शाहीले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘मतदान केन्द्रमा खटिने पर्यवेक्षकका अतिरिक्त मोबाइल पर्यवेक्षकहरु पनि परिचालन गरिनेछ जसमा १४ जना मोबाइल पर्यवेक्षक रहने छन् ।’

डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले निर्वाचनमा खटीने पर्यवेक्षकहरुले निर्वाचन आचार संहिताको पुर्ण ख्याल गर्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘सबैभन्दा पहिला तपाईहरु आफैंले निर्वाचन आचारसंहिताको ख्याल गर्नु होला,त्यसपछि मात्र अरुको अनुगमन गर्न सजिलो हुन्छ ।’ निर्वाचनमा खटिएका पर्यवेक्षकहरुले कुनै पनि दलको वा उम्मेदवारको समर्थन वा विरोध गर्न नपाइने आचारसंहितामा उल्लेख गरिएको छ ।

अभिमुखीकरण कार्यक्रममा पर्यवेक्षकहरुलाई आवश्यक निर्देशन दिंदै नियोक प्रदेश नं. ७ का संयोजक देवी खनालले पर्यबेक्षक निश्पक्ष हुनुपर्ने बताउनु भयो ।

खनालले भन्नु भयो ‘तपाईंहरु सुन्ने काम धेरै गर्नु होला तर बोल्न पाउनु हुन्न, पर्यवेक्षकका आँखा र कान तिखा हुनु पर्छ तर मुख बन्द हुनु पर्छ ।’प्रदेश नंं. ७ मा एक सय ७६ मतदान केन्द्रमा त्यति नै संख्यामा मोबाइल पर्यवेक्षक खटाउने तयारी भइरहेको खनालले जानकारी दिनुभयो ।