हराएको मोटरसाईकल २ वर्षपछि भेटियो

0
Shares

सञ्जय कार्की,रौतहट ।

महङ्गा मुल्यका चार वटा मोटरसाईकल चोरी भएको दुई बर्ष पछि रौतहटबाट सम्बन्धित सवारी धनीले फिर्ता पाएका छन ।

आठ महिना यता मात्रै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ७ वटा मोटरसाईकल सम्बन्धित धनी लाई फिर्ता दिईसकेको छ भने कागजपत्र नभएका २५ वटा मोटरसाईकल राजश्व कार्यालय पथलैयामा बुझाइसकेको प्रहरीले जनाएको छ ।

अहिले पनि बरामद भएको २० वटा मोटरसाईकलको धनी प्रहरीले खोजी गरिरहेको जनाएको छ । देशको बिभिन्न स्थान बाट फरक फरक समयमा काठमाण्डौ बाट चोरी गरी रौतहट ल्याइएका मोटरसाईकल बरामद गर्दै सम्बन्धित धनीलाई प्रहरीले फिर्ता दिएको हो ।

नक्कली नम्बर प्लेट राखेर चलाईदै आएको बेला ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उक्त मोटरसाईकल बरामद गरेको थियो ।

बरामद मोटरसाईकल चार लाख पर्ने सम्मका रहेको छ । बरामद भएको मोटरसाईकलका धनीहरु अमित नरसिंह शाक्य, अरबिन्द कुमार सिंह र सन्जु राईलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक यादब राज ढकालले मोटरसाईकल फिर्ता गरिदिनु भएको हो ।

मोटरसाईकल फिर्ता पाएपछि उनीहरु हर्षित भएका छन । चोरीका मोटरसाईकल बाट अबैध घरेलु मदिरा, काठ तस्करी, लागु औषध ओसार पसार, चोरी, र जुवा तास, लगायतका अबैध क्रियाकलापमा प्रयोग हुने गरेको पाइएको छ ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक यादबराज ढकालले मोटरसाईकल चोरीमा संलग्न पाँच जना लाई कारबाहीको दायरामा ल्याइएको बताउनु भयो ।