व्यवसायी श्रेष्ठको रिहाइको माग


दाङ, २८ जेठ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले शुक्रबार अपहरणमा परेका तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको सकुशल रिहाइको माग गरेको छ ।

सङ्घका अध्यक्ष विमल रिजालले यथाशक्य रिहाइका लागि अपिल एवम् सुरक्षा निकायलाई खोजीकार्यका लागि अनुरोध गर्नुभएको छ । साथै उहाँले व्यावसायिक सुरक्षामा गम्भीर बन्न प्रहरी प्रशासनसँग अनुरोध पनि गर्नुभएको छ ।

अध्यक्ष रिजालले सत्य तथ्य सूचना प्रहरीलाई उपलब्ध गराई सहयोग गरी दिनुहुनसमेत अनुरोध गर्नुभएको छ ।

तुलसीपुरमा व्यवसायी एकाएक अपहरणमा पर्ने घटना पटक पटक दोहोरिएपछि यहाँ व्यवसायी चिन्तित बनेका छन् ।

शुक्रबार तुलसीपुरबाट राति ८ बजे अपहरणमा परेका व्यापारी श्रेष्ठको खोजी कार्य व्यापक पारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

कल डिटेलका आधारमा गरिएको अनुसन्धानबाट अपराधीकोे नजिक पुगेको प्रहरीको दाबी छ । रासस