चुनावअघि संशोधन हुन्न : प्रधानमन्त्री



काठमाडौं, (नेस)
संविधान संशोधन नभएसम्म स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने अडान राख्दै आएको राष्ट्रिय जनता पार्टी नेपाल प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ सार्वजनिक भएपछि झन् चिढिएको छ।

देउवा राजपाको पनि समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो। प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचनअघि संविधान संशोधन हुन नसक्ने बताएपछि राजपाका नेताहरू आक्रोसित बनेका हुन्।

शुक्रबारको व्यवस्थापिका संसद् बैठकमा प्रधानमन्त्री देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन अगाडि संविधान संशोधन गर्न नसकिने जवाफ दिनुभएको थियो।

राजपासहितका मधेसी दलहरूले संसद्मा संविधान संशोधनमा सहमतिअनुसार काम नभएको भन्दै आलोचना गरेपछि देउवाले निर्वाचनअघि संशोधन हुन नसक्ने बताउनुभएको हो।

देउवाले भन्नुभयो– ‘धेरै घुमाउनुपर्ने कुरा छैन। दोस्रो चरणको स्थानीय तहको निर्वाचनअगाडि संशोधन सम्भावना छैन। दोस्रो चरणको चुनाव सकिनासाथै प्रतिपक्षी दलसँग कुरा गरेर संशोधन गर्नुपर्छ। विपक्षी दलले पनि सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’

‘सबैको सरकार भए पनि नभए पनि सरकार र सम्पूर्ण नेपालीलाई सहमति आवश्यक छ। हाम्रो देशमा हिमाल, पहाड र मधेस छ। भौगोलिक विविधता छ। त्यस्तै हाम्रो देशमा धेरै जनजाति छन्। सबैको देश हो। कतिपय कारणले पछाडि परेको अवस्था पनि छ। यी सबै कुरा गर्नका लागि संविधान बनाएका छौं। हामी सबै पार्टी मिलेर संविधान कार्यान्वयन गर्न जरुरी छ।

मधेसी भावनाअनुसार संविधान संशोधन आवश्यक छ।’ –देउवाले भन्नुभयो।

प्रधानमन्त्री निर्वाचनमा देउवालाई मतदान गरेका मधेसी दलहरूले सरकारसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनमा उदासिन बनेको आरोप लगाएका छन्।

देउवालाई बधाई तथा शुभकामना दिँदै राजपाका सांसद सर्वेन्द्रनाथ शुक्लले सरकारले तीन बुँदे सहमति कार्यान्वयनमा क्रियाशीलता नदेखाएको आरोप लगाउनुभयो। शुक्लाले भन्नुभयो– ‘अहिले परिस्थिति निर्वाचनमा भन्दा आन्दोलनमा जाने बनेको छ। हामी निर्वाचन चाहन्छौं। तर तीन बुँदे कार्यान्वयनमा सरकारको क्रियाशीलता देखिएन।’

राजपा रुष्ट

प्रतिक्रिया दिनुहोस्