अझै लोड सेडिंग मुक्त भएन वीरगन्ज पथलैया औधोगिक क्षेत्र


कृष्णउदास खनाल,वीरगन्ज ।
सरकारले वीरगन्ज पथलैया क्षेत्रमा रहेका उधोगहरुको समस्यालाई दृष्टिगत गरी उधोग क्षेत्रलाई लोड सेडिंग मुक्त बनाउने घोषणा गरेपनि यो ब्यवहारमा लागू नहुदा यहाँका ब्यवसायीहरुले शास्ती झेल्न परेको गुनासो गरेका छन्।

काठमाडौंबाहिर नेपाल विद्युत् प्राधिकारण वितरण केन्द्र वीरगन्जअन्तर्गत वीरगन्ज र पथलैया औद्योगिक कोरिडोर क्षेत्रका साना ठूला सबै गरी २० वटा फिडरबाट बिधुत प्रवाह गर्दै आइरहेको भएपनि लोड सेडिंग अन्त्य नभएको यहाँका ब्यवसायीहरु बताउछन् ।

विद्युतको प्रवाह कति बजेदेखि कति बजेसम्म गर्ने र कति बेला बिधुत काट्ने भन्ने नयाँ समय तालिका विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा अझै नआएको केन्द्रले बताएको छ । तालिका केन्द्रबाट नै आउने गरेको वीरगन्ज वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले बताए । ६ महिना पहिलेकै समय तालिकाअनुसार विद्युत् काटिँदै आएको उनले जानकारी दिए ।

‘पिक आवर’ मा हरेक दिन तीन÷चार घण्टा विद्युत्को लाइन काट्न आफूहरू बाध्य रहेको भन्दै उनले गर्मीमा पंखा, फ्रिजलगायतका सामान अझ बढी चल्ने भएकाले पनि थप विद्युत् माग हुने गरेको उनले बताए ।

बारा पर्सामा अवस्थित औद्योगिक कोरिडोर र दुवै जिल्लाका सदरमुकाममा हरेक दिन अझै पनि विद्युत् लोडसेडिङ हुँदै आएको विद्युत् वितरण केन्द्र वीरगन्जको स्वीकारोक्ति छ ।ऊर्जामन्त्री जनार्दन शर्मा र विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङले भने यस क्षेत्रमा गत १० माघसम्ममा नै विद्युत् आपूर्ति नियमित गर्ने घोषणा गरेका थिए ।

पर्साको ठोरीमा पनि कुल १४ सय घरधुरीमध्ये ३ सय ८० घरधुरीमा मात्र बलेको बत्ती केही समयमा १४ सय घरधुरीमा नै पु¥याउने प्रतिबद्धता मन्त्रीबाट व्यक्त भए पनि अझै १ हजार २० घरमा बिजुली पुग्न नसकेको पनि ठोरीका स्थानीयवासी रामप्रसाद ढुंगानाले बताए ।

मन्त्री स्वयंले १५ दिनमा विद्युत् नकाटिने आश्वासन दिएको भए पनि चार महिना बितिसक्दा पनि लोडसेडिङ नहटेको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा दुईतीन पटक काठमाडौं गएर नै ऊर्जामन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

तर पनि अझै समस्या समाधान नभएको वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल केडियाले बताएका छन् । लोड सेडिंगका कारण उधोगहरुको उत्पादन ३० प्रतिशत सम्म गिरावट आएको पनि उनले बताएका छन् ।