कुलबहादुर हत्या प्रकरण- एमाले–माओवादीबीच आरोपप्रत्यारोप


चिरञ्जीवी मास्के, दोलखा

स्थानीय तहको निर्वाचन प्रचारको क्रममा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा मृत्यु भएका दोलखा गौरीशङ्कर गाउँपालिका वडा नम्बर १ जुँगुका एमाले कार्यकर्ता कुलबहादुर तामाङको विषयमा एमाले र माओवादी केन्द्रबीच आरोप प्रत्यारोप शुरू भएको छ।

मंगलबार मृतक तामाङको बुबा गोरे तामाङ, श्रीमती साङमाया तमाङ, छोरी संगीता तामाङ र छोरा अशोक तामाङले पत्रकार सम्मेलन गरेर स्थानीय प्रशासनले हत्यामा संलग्नलाई पक्राउ नगरेकाले अहिले आफूहरूसमेत असुरक्षित रहेको आरोप लगाएका थिए। उनीहरूले घट्नामा संलग्न माओवादी केन्द्रका पोलिटब्युरो सदस्य देवी खड्कासमेत कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरीमा नाम रहेको ३९ जनालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका थिए।

मृतकको परिवारले हत्यामा संलग्नलाई कारवाहीको माग गरेको भोलिपल्ट बुधबार माओवादी केन्द्रले आफ्नो पार्टीको नेता देवी खड्कालाई मार्ने नियतले आक्रमण प्रयास भएको र सो क्रममा तामाङको मृत्यु भएको उल्लेख गर्दै घट्नामा संलग्न नरहेको विशाल खड्कालगायतको नाम जोडिएको भन्दै आपत्ति जनाएको छ।

माओवादी केन्द्रकोतर्फबाट दोलखा संयोजक गोपाल पाण्डेले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा घट्ना पछि घाइते भएका कुलबहादुर तामाङको स्थानीय अस्पतालमा प्राथमिक उपचार गर्दा अवस्था सामान्य रहेको भनिएकोमा उनको मृत्यु हुनु रहस्यमय रहेको उल्लेख गरिएको छ। ध्यानाकर्षण पत्रमा घट्नाको दोषी एमाले रहेको उल्लेख गरिएको छ।

माओवादी केन्द्रको ध्यानाकर्षणपत्रप्रति एमाले दोलखाले खेद व्यक्त गरेको छ। एमाले दोलखाले विज्ञप्ति जारी गर्दै सरकारको अनुसन्धानलाई चुनौती दिन खोजेको आरोप लगाएको छ। विज्ञप्तिमा शहीद तामाङको हत्यारालाई उन्मुक्ति दिने काममा माओवादी केन्द्र सक्रिय रहेको उल्लेख गर्दै त्यसको भत्र्सना गरेको छ।

माओवादी केन्द्रले एमाले नेताहरूको चरित्र हत्या गर्ने प्रयास गरेको उल्लेख गर्दै विज्ञप्तिमा घट्नाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही अगाडि बढाउन सरकारसंग मागसमेत गरेको छ।

गौरीशङ्कर गाउँपालिका वडा नम्बर १ जुँगुमा वडा सदस्यका उम्मेदवार गोरे तामाङको छोरा कुलबहादुर तमाङलाई गत वैशाख २६ गते बेलुका जुँगु नीलकण्ठेश्वर मावि नजिक होटलमा बसिरहेको अवस्थामा माओवादी केन्द्रका नेता कार्यकर्ताले आक्रमण गरी हत्या गरेका थिए।