पाकिस्तानद्वारा काबुल विस्फोटमा संलग्न रहेको अफगान आरोप अस्वीकार


इस्लामावाद, (एजेन्सी)
अफगानिस्तानको राजधानी काबुलमा भएको भीषण बम आक्रमणमा संलग्न रहेको अफगान आरोपलाई पाकिस्तानले अस्वीकार गरेको छ।

सुरक्षा व्यवस्था अत्यन्त कडा रहेको कूटनीतिक इलाकानजिकै बुधबार भएको उक्त आक्रममा करिब ९० जनाको मृत्यु भएको थियो भने ३ सय ५० जना घाइते भएका थिए। उक्त आक्रमणका लागि अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। तर अफगान गुप्तचर अधिकारीले आक्रमण तालिवानसँग गठबन्धनमा रहेको हक्कानी समूहले पाकिस्तानको सहयोगमा गरेको हुन सक्ने बताएका छन्।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता उक्त दाबी आधारहीन भएको बताए। ‘अफगानिस्तानको स्थायित्व पाकिस्तानको चासोको विषय हो।’ –नफिज जाकारियाले बताए। आफ्नो असफलतालाई लुकाउन अरूलाई आरोप लगाउने अफगानिस्तानको यो कार्य असहयोगी हुने उनले बताए।

पाकिस्तान र अफगानिस्तानबीच एक अर्कालाई अन्तरसीमा आक्रमणमा सक्रिय लडाकूहरूलाई प्रश्रय तथा समर्थन गरिरहेको आरोप प्रत्यारोपमा लागिरहेका छन्। अफगानिस्तानले काबुल विस्फोटपछि बुधबार पाकिस्तानसँग खेल्ने भनिएको सबै क्रिकेटका खेल रद्द गरेको छ।

उक्त आक्रमणमा कुनै पनि भूमिकालाई लिएर तालिवानले अस्वीकार गरिसकेको छ। अफगानिस्तानमा हालैका दिनहरूमा सक्रिय रहेका आईएसले अहिलेसम्म उक्त आक्रमणलाई लिएर कुनै प्रतिक्रिया दिएको छैन।