नवनिर्वाचित जनप्रतिनिधिबाट भूकम्प प्रभावितले गरेका अपेक्षा



नेपाल समाचारपत्र, रसुवा
पहिलो चरणको स्थानीय तहको चुनाव सकिएको छ । रसुवामा नयाँ संरचना अनुसार कायम भएका पाँच वटा गाउँपालिकामा एक सय ३९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

नवनिर्वाचित जनप्रतिनिधिहरु अहिले गाउँवस्तीमा भेटघाटमा व्यस्त छन् । चुनावको समयमा भोट माग्दै हिडेका भूकम्प प्रभावित भने अहिले घर वनाउने काममा जुटिसकेका छन् ।

बर्खा नजिकिँदै गर्दा प्रभावितलाई घर वनाउने हतारो छ । दुई वर्षअघि भूकम्पले ढलेका रसुवाका ११ हजार भन्दा बढि घरमध्ये अहिले एक हजार घरधनीले अहिले धमाधम घर वनाइरहेका छन् ।

सिंहदरबारको अधिकार गाउँमै पाइन्छ भन्ने सुनेका गोसाईंकुण्ड गाउँपालिका–५ ठुलोस्याफ्रुका पेमा दोर्जे तामाङलाई जनप्रतिनिधिले प्रभावितको समस्या बुझेर काम गर्छन् भन्ने ठूलो विश्वास छ । ‘सरकार तीन पटक फेरिँदा पनि प्रभावितको जीवन फेरिन सकेन गाउँकै जनप्रतिनिधिले त पक्कै पनि सहज तरिकाले गर्छन तामाङले भन्नुभयो ।
पहिलो किस्ता पाएका प्रभावित घर बनाउने काममा छन् । छुटेका प्रभावित जितेका जनप्रतिनिधिले केही गर्लान भन्ने अपेक्षा लिएर बसेका छन् ।

तर भूकम्पका कारण थातथलो छाडेर यत्रतत्र छरिन पुगेका रसुवाका ४ सय भन्दा धेरै विस्थापितलाई कहाँ जाने भन्ने चिन्ता छ ।
सुरक्षित ठाउँ पहिचान गरेर पूर्नवासको व्यवस्था गर्ने आशा रहेको पार्वतीकुण्ड गाउँपालिका–१ का उत्तम तामाङले वताउनुभयो । तामाङले भन्नुभयो ‘विस्थापित भएका आफैँ गाउँपालिका प्रमुख भएका छन् । यसकारण पनि गाउँ फर्कने वातावरण वनाउने आशा गर्न सकिन्छ ।
पहिलो अपेक्षा

छुटेका वास्तविक भूकम्प प्रभावितलाई पहिलो किस्ता

दुई वर्ष अघि आएको विनासकारी भूकम्पका कारण पूर्ण रुपमा घर भत्किएका भूकम्प प्रभावितका लागि किस्ता दिलाउनका लागि जनप्रतिनिधिले काम गर्नुपर्ने वेला आएको छ ।

छिमेकीले घर निमार्ण गरेर दोस्रो किस्ता वुझ्न थालिसक्दा समेत किस्ता नपाएका कारण घर निमार्ण थाल्न नसकेका जिल्लाका तीन सय ९५ भूकम्प प्रभावितले किस्ता दिलाउन भन्ने अपेक्षा लिएर वसेका छन् ।

दोस्रो अपेक्षा
 विस्थापितको पूर्नवास

भूकम्पका कारण गाँउमा सुख्खा पहिरो झर्न थालेपछि आफ्नो थातथलो छाडेर हिडेका भूकम्प प्रभावित दुई वर्षसम्म पनि गाँउ फर्कन पाएनन् ।

भूकम्पले जमिन चिराचिरा पारेपछि पहिरोको जोखिम बढेको भन्दै जिल्लास्थित साविकका लाङटाङ, हाकु, डाँडागाँउ, ठुलोगाँउ, धुन्चे, राम्चे, धैबुङ र लहरेपौवा गाविसका चार सय भन्दा बढि घरधुरी विस्थापित हुन पुगेका थिए ।

भूकम्पपछि पटक पटक सरकार परिवर्तन भएपनि विस्थापितको जीवन परिवर्तन हुन सकेन् । गाउँ फर्कने सपना अधुरै रह्यो । अर्काको जग्गामा भाडा तिरेर वस्दा समेत जग्गा छाड्न कचकच गरिरहने जग्गाधनीका कारण समस्या झेल्न वाध्य भए ।

विस्थापित भएर धुन्चेमा वसिरहेका हाकुका वुचुङ तामाङ पार्वतीकुण्ड गाउँपालिकामा प्रमुखमा निर्वाचित भएपछि विस्थापितको आशा बढेको छ ।

तेस्रो अपेक्षा
बर्खा अगावै घर निमार्णका लागि किस्ता

बर्खा सुरु हुन लागिसक्यो । दुई वर्षसम्म वर्खाको चुहुँदो झरिमा रात कटाएका प्रभावितको यो वर्ष पनि टहरामा नै वित्ने भएको छ ।

पहिलो किस्ता वुझेर प्राविधिकको सल्लाह अनुसार घर वनाएका जिल्लाका ७ सय भन्दा बढि लाभग्राहीलाई दोस्रो किस्ता वितरणमा भएको ढिलाइले टहरामा नै वित्ने भएको हो ।

जिल्लामा पहिलो किस्ता वापत ५० हजार बुझेका ८ हजार ३ सय १७ लाभग्राहीमध्ये ६ सय ४३ लाभग्राहीले मात्र निजी आवास निमार्ण गरिरहेका छन् ।

सरकारको ढिलासुस्तीका कारण आजित भएका प्रभावित जनप्रतिनिधिले किस्ता वितरणमा सहज र छिटो वनाउने आशा बोकेर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्