नवनिर्वाचित प्रमुखले २० दिनमा राहत महसुुस गराउने



मेलम्ची, ५ जेठ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको प्रमुख पदमा निर्वाचित डम्बर अर्यालले २० दिनभित्र जनताले राहत महसुस गर्नसक्ने योजना सार्वजनिक गर्ने बताउनुभएको छ ।

बिहीबार नेकपा (एमाले)ले निकालेको विजय जुलुसपछि मेलम्ची नगरपालिकाको नगरपालिका जाने चौकमा भएको कोणसभामा सम्बोधन गर्दै अर्यालले २० दिनभित्र जनताले राहत महसुस गर्न सक्ने योजना सार्वजनिक गर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं ३ का सांसद शेरबहादुर तामाङले मेलम्ची क्षेत्रमा फ्री वाइफाइको व्यवस्था चाँडै नै गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मेलम्चीको प्रमुखमा एमालेका डम्बर अर्याल आठ हजार ६७८ मतका साथ विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी काँग्रेसका आइतमान तामाङले सात हजार ३३ मत प्राप्त गर्नुभएको थियो । उपप्रमुखमा पनि एमालेकै भगवती नेपाल नौ हजार ११७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

बाह्रबिसेमा प्रमुख र उपप्रमुखमा एमाले

यस्तै, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । बिहीबार अपराह्न सम्पन्न मतगणनामा एमालेका निमफुन्जो शेर्पाले काँग्रेसका बालकृष्ण बस्नेतलाई जम्मा २०० मतले पछि पार्दै जित हात पार्नुभएको हो । चार हजार ९२९ मत प्राप्त गरेर शेर्पा विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी बस्नेतले चार हजार ७०९ मत ल्याउँदै पराजय बेहोर्नु भएको हो ।

बाह्रबिसेको उपप्रमुखमा पनि एमालेकै सुशीला पाख्रिन विजयी हुनु भएको छ । उहाँले पाँच हजार १५ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी लीला नेपालले चार हजार ८१३ मत प्राप्त गर्नु भयो । त्यस्तै, जिल्लाको सदरमुकाम चौतारामा माओवादी केन्द्रबाट नगरपालिका प्रमुखमा अमानसिंह तामाङ र उपप्रमुखमा माओवादी केन्द्रका जानुका पराजुली विजयी हुनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्