बैतडीमा मतदाता शिक्षा कार्यक्रम पुनः सञ्चालन हुँदै



बैतडी,३ जेठ । बैतडीमा मतदाता शिक्षा कार्यक्रम पुनः सञ्चालन हुने भएको छ । सरकारले दुई चरणमा निर्वाचन गर्ने भएपछि बैतडीमा वैशाख पहिलो साताबाट सञ्चालन भएको मतदाता शिक्षा कार्यक्रम पनि स्थगित भएको थियो ।

बैतडीमा जेठ ५ गतेबाट मतदाता शिक्षा कार्यक्रम पुनः सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

बैतडीमा जेठ ३१ गते निर्वाचन हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम पुनः सञ्चालन हुन लागेको हो । मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न यसअघि नै छनोट भएका १८७ जना मतदाता शिक्षा स्वयम्सेवकलाई परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १२० मतदान स्थल तोकिएका छन् भने निर्वाचनमा भाग लिन १० दलले चुनाव चिह्न पाएका छन् । चार नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा एक लाख २४ हजार ८२४ जना मतदाता रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्