तीन दिनदेखि निरन्तर झड्का
इन्द्र गिरी, संखुवासभा
संखुवासभाको उत्तरी हिमाली भोटखोला गाउँपालिकाको ४ र ५ वडामा तीन दिनदेखि पटकपटक भूकम्पको झड्का आउन थालेपछि स्थानीयबासी आतंकित भएका छन्। वैशाख २६ देखि २९ गतेसम्म लगातार भूकम्पको झट्का आउने क्रम नरोकिएपछि भोटखोलाबासी आतंकित भएका हुन्।
जिल्लाको सदरमुकाम खाँदबारीबाट ३ दिन पैदल टाढा रहेको भोटखोला गाउँपालिकाको गोला, तुङ्खालीन, स्याकशिला, लुमसुङ, लिङ्गमलगायत गाउँमा अहिले पनि दिनको ३ देखि ५ पटकसम्म ठूलो आवाजसहित भूकम्पको झट्का आइरहेको भोटखोला गाउँपालिका ४ गोलाका उत्तरमान राईले बताउनुभयो।
उहाँले झट्का ३ देखि ५ सेकेन्डसम्म आउने गरेको र जमिनमुनिबाट झट्का आउँदा घर र जमिन थर्किने गरेको बताउनुभयो। वैशाख २६ गते बिहान साढे ९ बजे झड्का आएको थियो। त्यसपछि २७ गते २ पटक, २८ गते ३ पटक र शुक्रबार २९ गते बिहान ४ बजे, ८ बजे र दिउँसो २ बजे आएको बताउनुभयो।
भोटखोला ५ तुङखालीनका पटनध्वोज राईले भूकम्पको झट्का बारम्बार आइरहेकाले रातभरि नसुतेको बताउनुभयो। उहाँले झट्का आउँदा छोटो समय आए पनि ठुलो आवाजसहित आउने गरेको र माथिबाट भिर खसेर किच्ने हो कि भन्ने डरले स्थानीयवासी त्रसित रहेको बताउनुभयो।
राईले भने पहिरो गएको पनि छैन र ठूलो झट्का आवाजसहित आउँदा गाउँमा हिँडडुल गर्न पनि नसकिएको बताउनुभयो। उहाँले झट्का आउँदा भिरमा पहिरो र ढुंगा झरी लागेर मार्ने हो कि भन्ने डरले गाउँवासी त्रसित रहेको बताउनुभयो।
यता भोटखोला–५ मा रहेको जालपा आधारभूत विद्यालयका विद्यार्थी भूकम्पको कम्पनले त्रसित हुन थालेको र पढाउन नै समस्या हुन थालेको प्रअ जितबहादुर श्रेष्ठले बताउनुभयो। उहाँले कम्पनले जमिन थर्कने गरेकाले पढाउँदापढाउँदै विद्यार्थी कक्षाकोठाबाट भाग्ने गरेको बताउनुभयो।
लगातार कम्पन आइरहेको र विद्यार्थी आतंकित बनिरहेकाले विद्यालय नै केही दिनका लागि बन्द गर्न अभिभावकले अनुरोध गरेको बताउनुभयो।
प्रतिक्रिया