सुनील महर्जन, काठमाडौं
मतदाता शिक्षा प्रभावकारी नहुँदा मतदान प्रक्रिया जटिलसँगै मतपत्र धेरै बदर हुन सक्ने अवस्था रहेको पाइएको छ। विगतको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा मतपत्रको आकार तुलनात्मक रुपमा निकै ठूलो र अप्ठ्यारो रहेको छ।
एक जना मतदाताले एकै पटक अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख, वडाअध्यक्ष र एक दलितसहित दुई महिला र अन्य २ गरी जम्मा ४ सदस्यसमेत ७ पदका लागि मतदान गर्नुपर्ने हुन्छ, जुन अभ्यास मतदाताहरूलाई यसअघि थिएन। यस्तो मतपत्रमा सातवटा ठाडो लाइन रहेको हुन्छ र यसमा उम्मेदवारको निर्वाचन चिह्न राखिएको हुन्छ।
गाउँपालिका र नगरपालिकाको निर्वाचनका लागि मतपत्रमा पहिलो लाइन अध्यक्ष वा प्रमुख, दोस्रो लाइन उपाध्यक्ष वा उपप्रमुख, तेस्रो लाइन वडा अध्यक्ष, चौथो लाइन महिला सदस्य, पाँचौं लाइन दलित महिला सदस्य तथा छैठौं र सातौं लाइन दुई जना अन्य वडा सदस्यका लागि रहेको हुन्छ। यस्तो मतपत्रमा मतदान गर्दा पहिलोदेखि पाँचौं ठाडो लाइनको कोठाहरूमा रहेका चिह्नमध्ये प्रत्येक ठाडो लाइनको कुनै एक चिह्नमा गरी पाँच ठाउँमा तथा छैठौं र सातौं ठाडो लाइनको कोठा (कोलमभित्र) का कुनै दुई कोठामा मात्र मत संकेत गर्नुपर्दछ।
पुराना मतदातामा समेत यस खालको अनुभव नभएको र नयाँ मतदातालाई थाहा नभएकाले मतदान प्रक्रिया चुनौतीपूर्ण रहेकोे आयोगको प्रारम्भिक अनुमान रहेको छ। दलहरूले कतिपय ठाउँमा तालमेल गरेकाले पनि मतदातालाई मतदान गर्न सहज नहुने निर्वाचन पर्यवेक्षकहरूको प्रारम्भिक प्रतिवेदनले समेत औंल्याएको छ।
यसपटकको स्थानीय तहको निर्वाचन गर्दा मतदान प्रक्रिया पहिलाको भन्दा जटिल हुन सक्ने निर्वाचन आयुक्तहरूले स्वयं स्वीकार गरेका छन्। ‘संसद्मा रहेका दलसँगै धेरै दलले स्वतन्त्र हैसियतमा चुनावमा भाग लिएकाले मतपत्रको साइज ठूलो बनाउनुपरेको हो। चुनाव चिह्न खोजेर छाप लगाउन ४० सेकेण्डदेखि बढीमा २ मिनेटसम्म लाग्ने अनुमान गरेका छौं।’ –निर्वाचन आयुक्त नरेन्द्र दाहालले भन्नुभयो।
काठमाडौं उपत्यकालगायत धेरै मतदाताहरू भएको जिल्लामा प्रयोग हुने मतपत्र अहिलेसम्मको निर्वाचनमा प्रयोग भएको भन्दा निकै ठूलो रहेको छ। सबैभन्दा ठूलो मतपत्र ६८ लहरको रहेको छ। आयोगले पहिलो चरणको निर्वाचनमा जिल्लापिच्छे फरक हुने गरी ३४ प्रकारको र ६ आकारको मतपत्र तयार गरेको जनाएको छ। आयोगले ४४, ३६, २८ र २२ लहरको मतपत्र तयार गरेको थियो। सबैभन्दा कम साइजको १८ लहरको रहेको छ। यसको साइज झण्डैझण्डै साप्ताहिक पत्रिकाको एउटा पृष्ठ जस्तो हुनेछ।
हरेक मतदान केन्द्रमा ६ सयदेखि १ हजार मतदातासम्म रहने आयुक्त दाहालले जानकारी दिनुभयो। यसले गर्दा मतदानको निर्धारित समय अपुग हुने निर्वाचन पर्यवेक्षकहरू बताउँछन्। आयोगले बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको अवधि तोकेको छ।
मतपत्र ठूलो र चिह्न खोज्नुपर्ने अवस्थाले २ देखि ४ घण्टा थप समय चाहिन सक्ने निर्वाचन पर्यवेक्षण गर्ने संस्था जियोकका महासचिव कृष्णमान प्रधानले नेपाल समाचारपत्रलाई बताउनुभयो। निर्वाचन पर्यवेक्षणका क्रममा काठमाडौं महानगरपालिकाका कतिपय वडाका मतदान केन्द्रमा ४ हजार मतदातासम्म रहेको पाइएको पनि निर्वाचन पर्यवेक्षकहरू बताउँछन्।
मतपत्रको आकार ठूलो भएकाले मतपत्र बदर हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आयोगले मतदाता शिक्षाको अभियान थाले पनि प्रभावकारी नभएको सर्वसाधारणहरू बताउँछन्।
आयोगबाट खटिएका स्वयंसेवकहरूले मतदाता सचेतना जगाउन थालिएको कार्यक्रम औपचारिकतामा सीमित भएकाले पनि मतदाता शिक्षा प्रभावकारी नभएको पाइएको छ।
त्यसमाथि निर्वाचन हुने वा नहुने संशयले जनसहभागिताको कमी देखिएको र निर्वाचनको तयारीकै क्रममा दुई चरणको निर्वाचन गर्ने निर्णय आएकाले सोहीअनुरूपले मिलाउनुपर्ने कारणले मतदाता शिक्षामा असर परेको आयुक्तहरू बताउँछन्।
प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले भन्नुभयो– ‘छोटो तयारीमा आयोजना गरिएको यो चुनावमा मतदाता शिक्षा पुगेन। घरघरमा गएर मतदाता शिक्षा दिन नसकेको हामीलाई पनि लागेको छ।
यसले गर्दा बदर मतको संख्या बढ्न सक्ने सम्भावनालाई नकार्न मिल्दैन।’ सरकारले छोटो समयमा निर्वाचन मिति घोषणा गरेकाले निर्वाचन गराउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले ती चुनौतीलाई चिर्दै निर्वाचन व्यवस्थापन गर्नुपरेको बताउनुभयो।
प्रतिक्रिया