काँग्रेसको पक्षमा जनलहर बढेको छ – नेता लेखक


काठमाडौँ, २८ वैशाख । नेपाली काँग्रेसका नेता तथा पार्टीको प्रचारप्रसार उपसमितिका संयोजक रमेश लेखकले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका पक्षमा जनलहर बढेको बताउनुभएको छ ।

प्रचारप्रसार उपसमितिद्वारा आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित पत्रकार भेटघाटमा उहाँले अन्य दलसँग चुनावी तालमेल गरिएका र एक्लै प्रतिस्पर्धा गरिएका सबै महानगरपालिकामा काँग्रेसले चुनाव जित्ने दाबी गर्नुभयो ।

नेता लेखकले उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा गरिएको सूक्ष्म अध्ययनबाट काँग्रेस ६० देखि ७० प्रतिशत स्थानीय तहमा विजयी हुने वातावरण देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “काँग्रेसको नेतृत्वमा नै संविधान जारी भयो, संविधान कार्यान्वयन गर्न पनि काँग्रेसको नेतृत्व आवश्यक छ । काँग्रेस सरकारमा सहभागी भएपछि मात्र स्थानीय तहको निर्वाचन पनि सम्भव भएको हो ।”

दोस्रो चरणको निर्वाचनमा मधेस केन्द्रित दलसँग पनि चुनावी तालमेल हुन्छ भन्ने जिज्ञासामा नेता लेखकले संविधानको कार्यान्वयन र संविधानका आधारभूत पक्षसँग सहमत भएका दलसँग स्थानीय आवश्यकताअनुसार चुनावी तालमेल हुन सक्ने विचार व्यक्त गर्नुभयो । नेता लेखकले अहिलेको सत्ता गठबन्धनबाटै सहमतिका साथ छिट्टै काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।