नेसनल ट्रेडिङले कौडीको मूल्यमा सामान बेच्दै



हेमन्त जोशी, काठमाडौं
कर्मचारीलाई स्वेच्छिक अवकासमार्फत् घर फर्काउने निर्णय गरिसकेको नेसनल ट्रेडिङ खारेज हुने वा नयाँस्वरुप र संरचनाअन्तर्गत अगाडि बढ्ने भन्ने बारेमा भने अझै निक्र्याल भइसकेको छैन। सरकारी निकायका रुपमा २०१८ सालदेखि विभिन्न वस्तुको व्यापार गर्दै आएको ट्रेडिङसँग ५५ वर्ष पुराना सामान पनि भण्डारणमै थन्किएर रहेका छन्।

नेसनल टे«डिङका महाप्रबन्धक लवराज जोशीका अनुसार खरिद गर्ने बेलाको वस्तुको मूल्यलाई आधार मान्दा साढे ११ करोड रुपियाँभन्दा माथिको वस्तु अझै पनि मौज्दातका रुपमा रहेको छ। उक्त मूल्य बराबरको सामानलाई ट्रेडिङले औसत ८५ प्रतिशतसम्म साविकको मूल्य घटाई बिक्री गरिने महाप्रबन्धक जोशीले बताउनुभयो।

ट्रेडिङले बेच्न लागेको वस्तुको मूल्यांकन गर्दा बेचल्तीका सामानमा ७० प्रतिशत, लिलामीका सामानमा ९० प्रतिशत र बिक्री गरिने सामानमा ८० प्रतिशत मूल्य घटाएको छ। जसअनुसार ती वस्तुको मूल्य १ करोड रुपियाँबराबरमात्रै पर्न जान्छ।

२०१८ सालदेखि भित्राइएका रसियन गाडीका पार्टपुर्जा, रबर, मदिराजन्य र सूर्तीजन्य वस्तु हाल कामै नलाग्ने भएपछि ट्रेडिङले वस्तुको गुणस्तर अनुसार चल्ती, बेचल्ती, नास्ने र लिलामी गरी चार वटा विषयमा वर्गीकरण गरेको छ। ट्रेडिङले बेच्न लागेको वस्तुको मूल्यांकन गर्दा बेचल्तीका सामानमा ७० प्रतिशत, लिलामीका सामानमा ९० प्रतिशत र बिक्री गरिने सामानमा ८० प्रतिशत मूल्य घटाएको छ।
जसअनुसार ती वस्तुको मूल्य १ करोड रुपियाँबराबरमात्रै पर्न जान्छ। नेसनल ट्रेडिङको तथ्यांकअनुसार १ करोड ९ लाख रुपियाँबराबरको मेसिनरी वस्तु, साढे ७ करोड रुपियाँबराबरको सूर्तीजन्य र मदिराजन्य वस्तु र २ करोड ६० लाख रुपियाँबराबरको इन्डक्सन चुलो मौज्दात रहेकोछ।
नेसनल ट्रेडिङ लिमिटेडले वस्तुको लागत मूल्यमा ८५ प्रतिशत छुट दिँदा पनि बिक्री नभएको अवस्थामा ती वस्तुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा नसनल ट्रेडिङनै अन्योलमा रहेको छ। नेपाल समाचारपत्रसँग कुरा गर्दै महाप्रबन्धक जोशीले भन्नुभयो–‘मेसिनरी सामान हेर्दा केही पनि भएको छैन तर ती सामान अलिले प्रयोग नै नहुने भएकाले फलामकै भाउमा बिक्री हुने हो।
वियर, वाइनलगायत मदिराजन्य वस्तुको गुणस्तर पनि प्रयोग गर्न नमिल्ने भइसकेको छ।’ पुनः प्रयोग गर्न समेत नमिल्ने अवस्थामा रहेका वस्तुका ८५ प्रतिशत छुट दिँदा पनि कबाडीमा लिलाम नभएको खण्डमा के गर्ने भनेर हामी आन्तरिक तयारीमा जुटेका छांै उहाँले भन्नुभयो।
ट्रेडिङसँग मौज्दात रहेका वस्तुको व्यवस्थापन नभएसम्म स्वेच्छिक अवकासमा जान लागेका कर्मचारीले करारमा बसेर भए पनि काम गर्ने मनसाय देखाएको महाप्रबन्धक जोशीले बताउनुभयो। उहाँले भन्नुभयो–‘सबै कर्मचारी अवकासमा पठाइसके पनि मौज्दात रहेका वस्तुको व्यवस्थापन कसरी हुन्छ भन्ने विषयमा हामीले पनि छलफल गरेका छँैं। कर्मचारी साथीले अवकासपछि पनि केही समय करार सेवामार्फत् कर्मचारी राखेर बिक्रीको टुंगो लगाउँछौं।’
मेसिनरी सामान, औद्योगिक कच्चा पदार्थ, दैनिक उपभोग्य वस्तुमा निजी क्षेत्रको एकाधिकार तोड्ने र बजारमा नियन्त्रणकारी भूमिका खेल्ने सरकारी निकायका रुपमा रहेको ट्रेडिङले दैनिक उपभोग्य सामानको मौज्दात र सहज वितरणमार्फत् निजी क्षेत्रको एकतन्त्री बजार प्रणालीलाई नियन्त्रणमा सहयोग गर्छ।
अत्यन्त आवश्यक सामानहरू दाल चिनी तेल, चामल नुन ग्याँसलाई स्टक राखी आवश्यक परेका बेला वितरण गर्ने हुनाले नियन्त्रणकारी भूमिका ट्रेडिङको रहन्छ। निजी क्षेत्रलाई गुणस्तर कायम गर्नका लागि दबाब सिर्जना हुने, वस्तुको कृत्रिम अभाव हुन नदिने र मूल्यवृद्धि नियन्त्रण ट्रेडिङले हाल गर्दै आएका काम हुन्। त्यस्तै ट्रेडिङले उद्योगधन्दालार्ई चाहिने कच्चा पदार्थ र मेसिनरी सामग्रीको सार्वजनिक खरिद ऐनअन्तर्गत रहेर आयात पनि गर्दै आएको थियो। २०६५ सालदेखि ट्रेडिङले व्यापारिक प्रयोजनका लागि कुनै सामान किनेको छैन।
नेसनल टे«डिङ निरन्तर घाटामा टेकुमा रहेको ५० रोपनी जग्गा नेपाल आयल निगमलाई बेचेर १ अर्ब ३८ करोड रुपियाँऋण तिर्ने र २ सय ६४ जना कर्मचारीलाई स्वेच्छिक अवकासमा पठाउन लागेको हो। आवश्यक कागजी प्रक्रियापछि टे«डिङ र निगमले जग्गा खरिद बिक्रीका लागी अर्थ मन्त्रालयको सहमति मागेकोमा अर्थ मन्त्रालयले स्वीकृति दिए पनि मन्त्रिपरिषद्बाट स्वीकृत हुन भने बाँकी छ।

प्रतिक्रिया दिनुहोस्