सिमेन्ट उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड



काठमाडौं (नेस)
नेपाल क्लिंकर तथा सिमेन्ट उत्पादक संघले नेपालमा सिमेन्ट आयात प्रतिस्थापनको सम्भावना, चुनौती र समस्या समाधानका सम्बन्धमा राज्यको तर्फबाट चालिएको उचित पहल कदम र लगानीमैत्री वातावरण सिर्जनाका बाबजुद पनि स्रोत साधनको पर्याप्त उपयोग गर्न नसक्दा आत्मनिर्भर हुन नसकेको जनाएको छ।

पछिल्लो समयमा राज्यले सिमेन्ट उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग घोषणा गरी लगानीमैत्री वातावरण सिर्जना गरेपछि निजी लगानीकर्ताहरू यस्ता उद्योगमा लगानी गर्न हौसिएका छन्। अहिले नेपालमा खोज अनुसन्धान भइसकेका र उच्च सम्भावना रहेका खनिज सम्पदाको उचित रणनीति बनाई भरपुर प्रयोग गर्न सकेमा अबको चार⁄पाँच वर्षमा शतप्रतिशत आयात प्रतिस्थापन हुने संघले जनाएको छ।

शतप्रतिशत आयात प्रतिस्थापन लक्ष्य प्राप्त गर्न सिमेन्ट उद्योगहरू सञ्चालनको लागि महत्त्वपूर्ण कच्चा पदार्थ चुनढुगाको लागि खानी उद्योगहरू सञ्चालन गर्दा उक्त क्षेत्र वनको जमिनभित्र परेमा उक्त जमिन प्रयोगको लागि वन विभागसँग सम्झौता गर्नुपर्ने देखिन्छ। वातावरणका नाममा ईआईएको प्रक्रिया झन्झटिलो रहेको छ। यो प्रक्रिया पूरा गर्न कम्तिमा दुई⁄ तीन वर्ष लाग्ने हुँदा उक्त प्रक्रियामा पुनरावलोकन गरी प्रक्रिया सरलीकरण गर्नुपर्ने माग पनि संघले राखेको छ।

त्यस्तै खानी अनुमतिपत्र प्रदान गर्ने प्रक्रियात्मक व्यवस्थामा सरलीकरण गर्न उद्योग सञ्चालन गर्दै आएकालाई प्राथमिकतामा राखेर खनिज कार्यको अनुमतिपत्र प्रदान गर्ने र उत्खनन् अनुमतिपत्रको लागि प्रक्रिया लामो भएकाले सहज गराउनुपर्ने आवश्यकता औंल्याएको छ।

प्रतिक्रिया दिनुहोस्