कवि जगत्केशरी र चण्डेश्वरी जात्रा



मोहन दुवाल
कजीवनको भावनात्मक अभिव्यक्तिका रुपमा लोकसाहित्यको अभिव्यक्ति भएको देखिन्छ। साहित्यको विकासमा लोकसाहित्यले प्राचीनकालदेखि प्रभाव पार्दै आएको कुरा सर्वविदितै छ।

लोकसाहित्यका रुपमा प्रकाशन हुँदै आएको विविध विधाअन्तर्गतका आख्यान, काव्य, नाट्यसाहित्य, कथा–कुथुङग्रीका विभिन्न रुपरङ्गहरु मानिसले सुन्दै र सुनाउँदै आएका विभिन्न प्रसङ्गहरु इतिहासमा छरपस्ट छन्।

नेपाली साहित्यमा मात्र नभई नेपालमा प्रचलित अन्य विविध भाषाका साहित्यमा पनि वर्णमात्रिक र अन्य छन्दमा समेत आफ्नो लयमार्फत काव्यकृतिहरु प्रकाशित भएका छन्। लोकसाहित्यको एउटा रुप कविता–काव्य पनि भएकोले यसै सन्दर्भमा रहेर बनेपामा प्रचलित एउटा लोकगाथाका रुपमा प्रचलित स्तोत्रलाई अगाडि सार्ने प्रयास गरेको छु।

आजभन्दा ३३९ वर्ष अगाडि जगत् केशरी नाम गरेका एकजना कविले ‘श्रीचण्डेश्वरी स्तोत्र’ नेपालभाषामा लेखेको एउटा प्राचीन काव्य–कृति हो। इतिहासमा ५३० वर्षअघि रण मल्लले बनेपामा स्वतन्त्र राज्यका रुपमा राज्य गरेको देखिन्छ। त्यसैताका रण मल्लले पनि साहित्यिक सिर्जना गरेको देखिन्छ। ‘पाण्डव विजयम्’ त्यस बेला यिनीद्वारा सिर्जित नाट्यकृति हो।

यस क्षेत्रमा देखा परेका हालसम्मका सबैभन्दा पुराना साहित्यिक व्यक्तित्वका रुपमा रण मल्लको साहित्यिक सिर्जना र सक्रियतालाई विशेष उल्लेख गर्न लायकको देखिन्छ।
त्यसपछि देखा परेको नेपालभाषाको काव्य–कृति हो जगत् केशरीका स्तोत्रहरु। जगत् केशरीका दुईवटा स्तोत्रहरु प्रकाशित छन्। लोकछन्दमा लेखिएको ‘चण्डेश्वरी स्तोत्र’ र ‘धनेश्वर स्तोत्र’का कविका रुपमा प्रकाशित भएका जगत् केशरी कुन जातिका, कुन क्षेत्रका र बनेपा वा काभे्र कुन ठाउँका हुन्, खोजीको विषय छ।

बनेपा क्षेत्रभित्रका आराध्यदेवी र देवका रुपमा सबैले पूजा गर्दै आएका चण्डेश्वरी भगवती र धनेश्वर महादेवका स्तोत्र लेखेर यस क्षेत्रमा प्रख्यातनामा कमाएका जगत् केशरी बनेपा नगरभित्रकै कवि प्रतिभा हुन् भन्न सकिन्छ। किनभने चण्डेश्वरी देवी यस क्षेत्रका पूजनीय मात्र नभईकन बनेपामा सबैले पूजा र रथ यात्रा गर्दै आएका आराध्य भगवती पनि हुन्।

‘धनेश्वर महादेव’ यस क्षेत्रमा प्रतिस्थापन हुँदै आएको प्राचीन कथाभित्र लुकेका ऐतिहासिक महादेवका शिवलिङ्ग भएकै कारणले सबैले पूजा गर्दै आएका महादेव हुन्।

काठमाडौंदेखि २६ कि.मि. पूर्वस्थित बनेपा नेवारहरुको बाहुल्य रहेको प्राचीन नगरी हो। अद्यावधि पनि यहाँका नेवारहरु आफ्नै भाषा नेवारी भाषा बोल्ने गर्छन्। नेवारहरु नेपाललाई ‘नेपा’ भन्ने गर्छन्।

काठमाडौंजस्तै ‘बनेपा’ पनि उपत्यकाका रुपमा संरक्षित छ। बनेपालाई चिनियाँ यात्रीहरुले ‘बनेपा’ (सानो नेपाल) को रुपमा उल्लेख गरेको पाइन्छ। यसै क्षेत्रमा प्राचीन कथामा वर्णित भएअनुसार ‘चण्डासुर’ दैत्यको साम्राज्य चलेको र त्यस साम्राज्यमा यिनले मनपरीतन्त्र चलाएर जनता जनार्दनहरुलाई दुःख दिएको किंवदन्ती प्रचलित छ।

संस्कृतिविद् हरिराम जोशीद्वारा सम्पादित रोलम्बाको वर्ष २ अङ्क ३ मा उल्लेख भएअनुसार नेपाल महात्म्यमा ‘चण्डपुर’ शहरमा बस्ने भनी चण्डासुरको चर्चा भएको छ। यसको वर्णनसँगै काशीका विश्वेश्वरनाथबाट वरदान पाएको उल्लेखले यिनी बनारसबाट आएको हुन सक्ने सम्भावनाका तथ्यहरु लुकेका छन्।

तर नेपाल महात्म्यकै उल्लेखलाई आधार बनाएर अध्ययन गर्दा चण्डासुर बनारसको नभई बनेपा आसपासकै असुर मानव अर्थात् सामन्त हुन् भन्न सकिन्छ। यस क्षेत्रमा अन्याय, अत्याचार, मनपरीतन्त्र चलाएकै कारणले यिनी यस क्षेत्रका निरंकुश सामन्त हुन् भनी प्रमाणित गर्न सकिन्छ। निरंकुश सामन्तहरुलाई त्यसताका दैत्य वा राक्षसका रुपमा परिचित गराउने प्रचलन भएकै कारणले चण्डासुरलाई दानवका रुपमा इतिहासमा परिचय गराएका छन्।

यस क्षेत्रका दानवलाई वध गरेकै कारणले चण्डेश्वरी महामानवका रुपमा ईश्वरीय शक्ति अथवा शक्तिशाली व्यक्तिका रुपमा चिरपरिचित छन्। यसै कारणले यस क्षेत्रमा यी महादेवी चण्डेश्वरीको मूर्ति प्रतिस्थापन गरी प्रत्येक वर्ष ठूलो पर्वका रुपमा चण्डेश्वरीको जात्रा चलाउने प्रचलन धेरै सय वर्षअगाडि चल्दै र चलाउँदै आएका छन्।

दानव अथवा अमानवकै रुपमा ज्यादती र शोषण गर्दै आएका असुर व्यक्तिलाई वध गर्न सक्नु चानचुने कुरा थिएन, त्यही कार्य चण्डेश्वरीले गर्दै आएको देखिएकोले सबैको मन–मनमा चण्डेश्वरी प्रतिस्थापन रहँदै आएको यस क्षेत्रका बासिन्दाहरुको भनाइ छ। यसैलाई आधार मानेर जगत् केशरीले ‘चण्डेश्वरी स्तोत्र लेखेको देखिन्छ। यहाँ जानकारीका लागि उक्त स्तोत्र उतारिएको छ।
परनाम याङा गुरुसके आज्ञा फोने
भवानिया चरण सं. चित्त तसे चोने।
चण्डिकाया महातम ङेनेल्हाय आव
महामाया चण्डेश्वरी पूजा याङा भाव।

यस स्तोत्र छन्दमा लेखिएको छ। भाषा र शैलीको दृष्टिले यस स्तोत्र कवितात्मक छ। बनेपालीले बोल्ने चलनचल्तीको भाषामा यस काव्यकृति लेखिएको छ। शब्दशैली र परिमार्जित भाषाका आधारमा भन्न सकिन्छ– जगत् केशरीले आपूmलाई परिपक्व र सक्षम कविका रुपमा चिनाउन सफल छन्। सिङ्गै कवितामा चण्डेश्वरीको महिमा गाइएको छ र चण्डासुरलाई वध गर्दाका घटना–प्रसङ्गहरुलाई मिलाएर चर्चा–परिचर्चा गर्न कवि सफल छन्।

यो स्तुतीलाई यस क्षेत्रका नेवारहरुले प्राचीन लोकगीत, लोककाव्यका रुपमा घर–घरमा वाचन गरेर चण्डेश्वरीको स्मरण गर्ने गर्छन्।

चण्डेश्वरीको जात्रा हुने चण्डीपूर्णिमाका दिन यो स्तोत्र पढ्ने चलन छ। चण्डेश्वरीमाई भनेर आस्थामा साँचेका चण्डेश्वरीको दैवीगुणको बखान गरेर लेखिएको यस लोकगाथा यस क्षेत्रका लागि अमूल्य ग्रन्थका रुपमा प्रख्यात छ।
यसै सन्दर्भमा इतिहासकार केदारनाथ प्रधानले ‘बनेपाको ऐतिहासिक रुपरेखा’ पुस्तकमा लेखोका छन्– ‘चण्डेश्वरीको सैन्यगणमा नाग रहनु, तिनको रक्षक एवं नागमालाका रुपमा ‘मीः नाग’ रहनुले यिनी नागजातिका हुन सक्ने सम्भावना देखिन्छ।

चण्डेश्वरीलाई कालीका रुपमा मानिसले यस भेगजातिका नेतृको रुपमा देखिने कालीको सन्तती भनी मान्न नसकिने देखिँदैन।’ यस भनाइलाई आधार मानेर विवेचना गर्दा चण्डेश्वरी नागजातिको सन्तति हुन सक्ने थुप्रै सम्भावना छन्। नेपालमा नागजातिको अस्तित्व रहेको मानिएबाट बनेपा इलाका नागगणसहितका मानवथलोका रुपमा विवेचना गर्न सकिन्छ। चण्डेश्वरीले चण्डासुर वध गरिएको प्रामाणिक आधारका रुपमा यस स्तुतिलाई पनि मनन गर्न सकिन्छ।

नेपाल महात्म्यमा चण्डेश्वरीको प्रादुर्भाव भएको सम्बन्धमा उल्लेख भएभैmँ भाषा वंशावली र वेदमाला वंशावलीमा पनि उल्लेख भएको पाइन्छ।

यसै स्तोत्रमा पनि नेपाल महात्म्यमा उल्लेख भएको कथाको वर्णन भएको छ। मातृप्रधान समाजको समयमा भएको मात्र घटना प्रसङ्गलाई नियाल्दा चण्डेश्वरीको मातृशक्तिको चण्डसुरको वध भएको देखिन्छ र यसै प्रसङ्गलाई उल्लेख गर्दै यो लोकगाथा स्तुतिका रुपमा तयार भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्