‘जसले घर बनाइदिन्छ, उसैलाई भोट’



रोशन पराजुली, हेटौंडा
यतिखेर देश नै चुनावमय भएको छ। शहरतिर चहलपहल बढी छ। गाउँमा सामान्य चुनावी चहलपहल छ। तर, गाउँका भूकम्पपीडित मतदातालाई चुनावले त्यति छुन नसकेको देखिएको छ।

गाउँमा हुने चुनावी गतिविधिप्रति पनि उनीलाई चाह छैन। उनीलाई आउँदै गरेको स्थानीय तह निर्वाचनभन्दा भूकम्पले भत्काएको घर पुनर्निर्माणको चिन्ता छ। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० बेत्तेघारीकी सुनसानी मोक्तान भूकम्पले भत्काएको घर कसरी बनाउने भन्ने चिन्तामा छिन्। सरकारले दिएको पहिलो किस्ता बापत्को ५० हजार रुपियाँले डीपीसीसम्मको कार्य सके पनि अर्को किस्ता नपाउँदा दुई वर्षदेखि गोठमा बस्दै आएको उनको परिवार चिन्तित बनेको हो।

भूकम्पले भत्काइदिएको घर बनाउन सरकारको सहयोग पाउने आशमा दुई वर्ष बिते पनि भनेबमोजिम सहयोग नपाउँदा उनको परिवारलाई सरकारको कामकारवाहीप्रति चित्त बुझेको छैन। यसैले त उनी अहिलेको चुनावभन्दा भूकम्पले भत्किएको घर बनाउने काममा सरकारले बढी ध्यान दिनुपर्छ भन्छिन्। ‘भूकम्पले घर भत्काइदिएपछि अरुको घरमा शरण लिनु परिरहेको पीडा कसलाई सुनाउनु ?,’ उनी भन्छिन्– ‘घर बनाउन पाएको भए मनमा शान्ति मिल्थ्यो, आनन्दको बास हुन्थ्यो, चुनाव आएर के भयो र ?’
घर बनाउन दिने भनिएको दोस्रो किस्ता रकम नदिएर सरकारले आफ्नो परिवारलाई बिचल्ली पारेको उनको गुनासो छ। ‘अहिले चुनाव आएको छ, नेतालाई जनता चाहिएको छ। बोलेको वचन पूरा नगर्ने नेताको बोलीमा के विश्वास गर्नु, किन दिनु भोट ?, ’ उनी भन्छिन्– भोट चाहिने भए हाम्रो घर बनाइ दिनुपर्यो।
सुनसानीका पति गणेश पनि अहिलेको चुनावप्रति उतिसाह्रो चासो नलागेको बताउँछन्। ‘लामो समयपछि चुनाव आउनु ठिकै हो तर, हाम्रा लागि अहिले चुनावभन्दा घामपानीबाट जोगाउने घरै ठूलो हो। ’ उनी भन्छन्– ‘कसलाई के धन्दा नेतालाई भोटको चिन्ता, हामीहरू बस्ने बास नभएर अनेक पीडा खेपिरहेका छौं, नेतालाई भोट चाहिएको छ।’

अहिले आफूहरूको आवश्यकता चुनावभन्दा पनि घर भएकाले सरकारले चुनाव गर्न प्राथमिकता दिएर लागिपरेझैं भूकम्पपीडितलाई अनुदान उपलब्ध गराएर घर बनाउन सहयोग गरे हुन्थ्यो भन्ने उनलाई लागेको छ।बेत्तेघारीमा दोर्जे मोक्तान, सुनबहादुर स्यांतान, कान्छा स्यांतान, फिलिङे ब्लोन, ठाकुर ब्लोन, ठूलीमाया स्यांबोलगायतको घर निर्माण कार्य अघि बढ्न नसकेको हो। घर निर्माण कार्य अधुरै राखेर चुनावको रमझममा लाग्नुको कुनै अर्थ नहुने पीडितहरू बताउँछन्। ‘अचानोको चोट खुकुरीलाई कहाँ थाहा हुन्छ र ?,’ ठाकुर ब्लोन भन्छन्– ‘चुनाव आएर केहीकेहीलाई रमझम छ, हाम्रो पीडा सुन्ने कोही छैनन्।’
बेत्तेघारीकै ६२ वर्षीया काली थोकरको पीडा पनि कम छैन घर अधुरै रहेकोमा। उनको घर पनि डीपीसी लेभलबाट माथि बढ्न सकेको छैन। ‘अनुदान बापत्को रकम समयमै पाएको भए नयाँ वर्षलाई नयाँ घरमा स्वागत गर्न पाइन्थ्यो। उनी भन्छिन्–भूकम्पले बास उठाएपछि गोठमा बसेका छौं, राज्यले सहयोग गर्ला र घर बनाउला भन्ने त आशमात्र भो।

‘सरकारले दिएको किस्ताले डीपीसी गरियो, ब्लक जम्मा गरियो। अब घर उठाउन अर्को किस्ता आउला भनेको, कति आश गर्नु ?,’ उनी निराश भावमा प्रश्न गर्छिन्– ‘सरकारले पनि गरिबले चाँही गोठमै जुनी बिताए हुन्छ भन्ठान्छ कि क्या हो ? ’

आर्थिक अभावका कारण घर बनाउन सरकारकै भर पर्नुपरेको उनी बताउँछिन्। ‘बिहानबेलुका छाक टार्न त धौधौ परिरहेको अवस्थामा घर बनाउन हामीसँग कहाँबाट पैसा हुनु ?,’ उनी दुःखेसो गर्छिन्– ‘पैसा हुँदो हो त अर्काको भर किन पर्नुपथ्यो र ?,’ उनी पनि अहिले गाउँमा चलेको चुनावी चहलपहलबाट पूरै वेखबर छिन्। भन्छिन्–‘चुनाव त नेताहरूलाई आउने हो, हामीलाई के मतलब ? ‘भोट चाँही कसलाई हाल्ने त ?’ प्रश्नमा उनको पनि जवाफ उस्तै छ–जसले घर बनाइदिन्छ, उसैलाई भोट दिइन्छ।’

आर्थिक अभावका कारण कालीका दुवै छोरा मजदुरीका लागि घरबाहिर छन्। छोराहरूले कमाएर पठाएको र आफूले पनि गाउँमा ज्याला मजदुरीबाट गुजारा चलाउँदै आएको उनी बताउँछिन्। दैनिक गुजारामा समस्या झेलिरहेका उनीजस्ता दश परिवार बेत्तेघारीका भूकम्पपीडितको घर निर्माण बीचमा रोकिएको छ।
‘रड ठडिएको छ, ब्लक जम्मा पारिएका छन्। घर निर्माण अघि बढ्ने सुरसार छैन,’ स्थानीय सामाजिक अगुवा जगतबहादुर लामा भन्छन्–‘चार⁄पाँच महिनादेखि डीपीसी लेभलमै घर निर्माण कार्य रोकिएको छ। आफ्नो हिसाबले बनाउन आर्थिक विपन्नता भएका भूकम्पपीडितले सक्ने कुरै भएन।

कैलाश–१० कै पोपीराङ बस्तीका चेपाङ समुदायका भूकम्पपीडितसँग पनि बेत्तेघारीका पीडितको जस्तै पीडा छ। करिब पन्द्रवटा घर अनुदानबापत्को किस्ता नपाएर निर्माण अघि बढ्न सकेको छैन। बस्तीका सर्वसाधारण पनि आर्थिक विपन्न भएकाले चुनावी चहलपहल भन्दा बिहानबेलुकाको छाक कसरी टार्ने भन्नेमै चिन्तित छन्। चुनावको विषयमा गफिँदाभन्दा बिहानबेलुकाको छाक टार्न दैनिक ज्याला मजदुरीमा लाग्दा आफूहरूको भलो हुने उनीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्