नेपाली भाषा–साहित्यका अनन्य सेवक दुर्गाप्रसाद



मोहन दुवाल
काशीमा जन्मेर, हुर्केर नेपाली भाषा–साहित्यको उत्थान र प्रगतिको लागि दिलोज्यान दिएर काशीबाट ‘उदय’ भएका नेपाली साहित्यिक पत्रिकाका सूत्राधार, सम्पादक तथा प्रकाशकको नाम हो– काशीबहादुर श्रेष्ठ। वि.सं. १९६८ असोज, कृष्णाष्टमीमा जन्मेका यिनी २०४७ सालतिर बनारसमा बितेका हुन्। वि.सं. १९९३ मा यिनले ‘उदय’ को प्रकाशन गराए।
‘उदय’ प्रकाशन भएको दुई वर्षपछि वि.सं. १९९५ माघ ५ गते जनकपुरमा दुर्गाप्रसाद श्रेष्ठ ‘उपेन्द्र’ को जन्म भएको हो। सुवर्णकुमारी देवी र काशीबहादुर श्रेष्ठको सुपुत्र नै हालका ‘उदय’ मासिकका सम्पादक÷प्रकाशक हुन्। कथा, उपन्यास, समालोचना, नियात्रा, अनुवादमा समेत आफ्नो दक्षता देखाउन सफल यिनी हालै २०७३ फागुन ३ गते नेपाल साहित्यिक पत्रकार संघ, केन्द्रीय समितिका तर्फबाट बनारसमा ‘उदय’ को निरन्तरताका लागि सम्मानित भएका व्यक्तित्व हुन्।

दुर्गाप्रसाद श्रेष्ठ नेपाली भाषाका प्रतिष्ठित कथाकार, उपन्यासकार, अनुवादक र सम्पादक हुन्। आफ्नै पिताले देखाएर गएको बाटोमा निर्भीक ढङ्गले लाग्दै आएका यिनी नेपालीहरूले सधैँ सम्झना गर्नुपर्ने व्यक्तित्वका रूपमा चिरपरिचित छन्। नेपाल र भारतका समन्वयकर्ता, सहजकर्ता तथा नेपाली भाषाका अनन्य सेवक दुर्गाप्रसादले अंग्रेजी र हिन्दीमा पनि आफ्नो सिर्जना छाडेका छन्।

यिनै दुर्गाप्रसाद पाँच वर्षको छँदा आफ्ना पिता काशीबहादुरले डोर्याएर बनारसमा ल्याएका हुन्। प्रारम्भिक शिक्षा–दीक्षा घरछेउकै पाठशाला ‘बाल निकेतन’ मा पढेका यिनी बनारसको चौखम्भामा बस्दै आएका छन्। भारतेन्दु हरिश्चन्द्र पनि यसै ठाउँमा रहने विद्वान् हुन्। बाल्यकालदेखि किताब पढ्न रुचाउने यिनी देवकीनन्दन खत्री र प्रेमचन्दका पुस्तकहरू खोजी–खोजी पढ्ने गर्छन्। यिनले स्नातकसम्म उत्तीर्ण गरेका छन्। कृष्णादेवीसँग १९५८ मा यिनको विवाह भयो। इ.सं. १९६२ देखि १९७७ सम्म करिब १५ वर्ष यिनी नेपाल सरकारको सूचना विभागमा सूचना अधिकारी भएर काम गरे। सन् १९६३ मा प्रथम नेपाली सिनेमा ‘आमा’ को कथा र संवाद लेखन गरेर उक्त सिनेमाको सहनिर्देशन पनि यिनले गरे।

हाल यिनी बनारसमा नै बसोबास गर्छन् तर छोरा–बुहारी काठमाडौंमा रहने भएकोले कहिलेकाहीँ काठमाडौंमा आउने–जाने गर्छन्। ८० वर्ष पुग्न लागिसक्दा पनि ‘उदय’ लाई प्रकाशन गर्ने कार्य गरेर आफ्नो जीवन्तता देखाउन यिनी चुकेका छैनन्। यिनी कथा लेख्छन्, कृतिगत रचनाहरूको टिप्पणी गर्छन्, अंग्रेजी र हिन्दी साहित्यको नेपालीमा र नेपाली साहित्यको हिन्दी र अंग्रेजीमा अनुवाद गर्छन् र ‘उदय’ को सम्पादन, प्रकाशन गर्न पाउँदा गौरव गर्छन्। दुर्गाप्रसाद श्रेष्ठ एकजना चर्चायोग्य कथाकार, साहित्यका समालोचक÷आलोचक, सक्षम अनुवादक तथा सफल साहित्यिक पत्रकारका रूपमा सुप्रसिद्ध छन्। यिनले बनारसमा नै जीवन बिताए।
पाँच वर्षको बालक छँदा काशीमा पुगेका दुर्गाप्रसादले भारतको काशीमा बसेर नेपाली भाषा–साहित्यको प्रचारप्रसार गर्नुका साथै नेपाली साहित्यको ऊर्जाशीलताका लागि धेरै गतिविधिहरू गरेको देखिन्छ। सानो छँदादेखि नै साहित्य पढ्न पाउँदा रम्ने यिनी स्कुलका पुस्तकालयबाट पुस्तकहरू ल्याएर अध्ययन गर्ने गर्छन्।

साहित्यलाई समाजको ऐनाका रूपमा देखिँदै आएका यिनी जीवनलाई सपनाजस्तै सम्झिन्छन्। चन्द्रलोक उडी छुने यिनको भविष्यको इच्छा रहेको र साहित्यसेवामा आफूसक्दो गर्दै ‘उदय’ लाई हालसम्म पनि प्रकाशन गर्दै आउन पाएकोमा यिनी गौरव गर्छन्। चेखव, समरसेट माम, धर्मवीर भारती र भगवतीचरण बर्माका साहित्य मन पराएर पढ्दै आएका यिनी नेपाली साहित्यकारहरूमा देवकोटा, बालकृष्ण सम र दौलतविक्रम विष्ट मन पराउँछन्। इ.सं. १९५६ मा ‘उदय’ पत्रिकामा ‘जीवन ध्येय’ कविता प्रकाशन गराएर कविका रूपमा देखा परेका यिनी साहित्यलेखनको प्रेरणा आफ्नो बुबा काशीबहादुर श्रेष्ठबाट पाएको कुरो बताउने गर्छन्। काशीबहादुरको साहित्यिक सेवा, साहित्यिक पत्रकारिताबाट विशेष प्रभावित हुँदै आएका दुर्गाप्रसादका प्रकाशित पुस्तकहरूमा सर्वप्रथम ‘सम्झनाका बादल’ (कथासङ्ग्रह) प्रकाशित भएको देखिन्छ। मराठी भाषामा यसको अनुवाद प्रकाशित छन्। ‘स्पन्दन’ (कवितासङ्ग्रह) प्रकाशित छ।

समालोचना कृतिमा ‘उसैका लागि एक अध्ययन’ प्रकाशित भएको देखिन्छ। विशेषतः उपन्यास लेखन र प्रकाशनमा सक्रिय रहेका यिनका ५ वटा उपन्यासहरू १) ‘उसका अत्यहीन कथाहरू’, २) ‘भाग्यरेखा’, ३) ‘शेषान्तर’, ४) ‘कोसेली’ र ५) ‘वाग्मती साक्षी छ’ प्रकाशित छन्। हिन्दी भाषामा पनि आफ्नो पहिचान देखाउन सफल यिनका हिन्दीमा दुईवटा कथासङ्ग्रहहरू १) ‘सतारे मौसी’ र २) ‘सोनिया’ प्रकाशित छन्। ‘देश–देशांतर’ यात्रासंस्मरण र २) ‘चंडीघोष स्ट्रीट’ उपन्यास पनि प्रकाशनमा आएको देखिन्छ। ‘तैलंग स्वामीको जीवनी’ यिनको अनुवाद कृति हो। आफ्नो बुबाकै बाटोमा लागेर, बुबाकै स्मृतिमा आफूसक्दो गरेर काशी अर्थात् बनारसमा भाषा–साहित्यको सेवा गरेर समर्पित साहित्यकारका रूपमा चिनाउँदै आएका यिनले बाबुको कृतिगत विवेचना गरेर अंग्रेजी र नेपालीमा क्रमशः ‘काशीबहादर श्रेष्ठ (मोनोग्राफ)’ र ‘काशीबहादुर श्रेष्ठ ः व्यक्तित्व र कृतित्व’ को सम्पादन गरेर बाबुको सुकीर्ति फिँजाउन सक्रिय भएर लागेका छन्। काशीबहादुर श्रेष्ठद्वारा लिखित ‘वचन’ उपन्यासको यिनले अनुवाद गरेर छपाएका छन्।
काशी हिन्दु विश्वविद्यालयमा स्नातकोत्तरसम्म अध्ययन गरेका यिनले बनारसमा रहँदा ‘सन्मार्ग’ दैनिकमा विज्ञापन व्यवस्थापक रहेर पनि कार्य गरेको देखिन्छ। यसका साथै यिनले ‘हिन्दी प्रचारक संस्थान’ मा जनसम्पर्क अधिकारीका रूपमा काम गरे। इ.सं. १९७४ मा उत्तरप्रदेश सरकारबाट ‘अहिन्दी भाषी लेखक’ का रूपमा सम्मानित भइसकेका यिनी काशीबहादुर श्रेष्ठ पछिका बनारसमा बसोबास गर्दै आएका नेपाली भाषा–साहित्यका दूत हुन्। भारतमा गठित अथर्स गिल्ड अफ इन्डियाका यिनी सदस्य पनि हुन्। ‘भाग्यरेखा’ का लेखक दुर्गाप्रसादले भारतमा बसेर पनि नेपाली भाषा–साहित्यको सेवा, सिर्जनामा आफूसक्दो गरिरहन जाँगर चलाएकै कारणले नेपालीहरूका लागि भारतमा बसोबास गर्दै आएका आधार–पुरुष अर्थात् आदरणीय प्रतिभावान व्यक्तित्वका रूपमा पूजनीय बने।
यसै गरी भारतीय नेपाली लेखक भएको नातामा हिन्दी भाषा–साहित्यको उत्थान, संवद्र्धन र प्रचार–प्रसारका लागि पनि यिनले आफूसक्दो सेवा पुर्याउँदै आएको देखिन्छ। भारत र नेपालका साहित्यक दूत, समन्वयकर्ताका रूपमा आफूलाई चिनाउँदै आएका दुर्गाप्रसादले ‘उदय’ का माध्यमबाट नेपाल र भारतका थुप्रै लेखकहरूलाई राष्ट्र र अन्तर्राष्ट्रिय जगत्मा चिनाउँदै आएका छन्। इ.सं. २००० मा विश्व हिन्दी सम्मेलनबाट ‘सहस्राब्दी हिन्दी लेखक’ का रूपमा पनि यिनी सम्मानित भइसकेका छन्।
नेपालका सबैजसो साहित्यिक पत्रकारहरू बनारसमा पुगेर यिनलाई वरिष्ठ साहित्यिक पत्रकारका रूपमा सम्मानित गरिएको हो। नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय महासचिवका तर्फबाट स्वागत–मन्तव्यका क्रममा मैले भनेको थिएँ– ‘भारतमा बसोबास गर्दै, नेपाली भाषा–साहित्यको प्रचारक हुँदै आएका दुर्गाप्रसाद श्रेष्ठ ‘काशी’का पुत्र रहँदै, ‘उदय’को रक्षा गर्दै आएका नेपालीहरूले गौरव गर्नलायक नाम हुनुका साथै सुकर्म हुन्।’

प्रतिक्रिया दिनुहोस्