सल्यानमा अदुवा उत्पादन बढ्यो



सरिता चलाउने, सल्यान ।
सल्यानमा यस वर्ष अदुवा उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा यसबर्ष अदुवा उत्पादनमा ४ प्रतिशतले बृद्धि भएको जिल्ला कृषि बिकास कार्यालयले जानकारी दिनुभयो ।

गत आर्थिक बर्षमा २ हजार हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकोमा २४ हजार ६ सय २१ मेट्रिक टन उत्पादन भएको थियो । यसबर्ष २ हजार ५० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकोमा २५ हजार ५ सय ३२ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालय सल्यानले जनाएको छ ।

गत बर्ष हालसम्ममा १० करोड ४३ लाख २० हजार बराबरको अदुवा बिक्री भएको थियो तर यसबर्ष हालसम्ममा २ करोड ८७ लाख ५ हजार बराबरको मात्रै अदुवा बिक्रि भएको छ । सल्यानको माल्नेटा, ढारखानी, सिद्धेश्वरी, कोटमौला, दमाचौर लगायतका ठाउँमा अदुवाको खेती गरिन्छ ।

यी ठाउँमा उत्पादन हुने अदुवामा रेसा नभएको तथा बोसे जातको हुन्छ । यहाँ उत्पादन हुने अदुवा दाङ, नेपालगञ्ज, बुटवल तथा भारतमा समेत निकासी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्