आयोगका उपाध्यक्ष डा श्रेष्ठ बैंकक प्रस्थान



 

काठमाडौँ, १५ चैत । राष्ट्रिय योजनाका आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ खिगो विकासका लागि एशिया प्रशान्त मञ्चको संयुक्त राष्ट्रसङ्घ आर्थिक तथा सामाजिक आयोग(युएनस्क्याप) को बैठकमा सहभागी हुन आज थाइल्यान्डको बैंकक प्रस्थान गर्नुभएको छ ।

यही चैत १६ गतेदेखि १८ सम्म आयोजना गरिएको बैंककमा उपाध्यक्ष डा श्रेष्ठले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्नेसम्बन्धी दृष्टिकोण विषयक सत्रको अध्यक्षता गर्नुहुनेछ ।

यस्तै सोही दिन उहाँले गरिबी निवारणसम्बन्धी छलफलमा भाग लिनुहुनेछ । उपाध्यक्ष डा श्रेष्ठले योजना कार्यान्वयन वितरण प्रणालीलाई सवलीकरणसम्बन्धी सत्रको सहजीकरण गर्नुहुनेछ भने तेस्रो दिन एशिया प्रशान्त क्षेत्रको गरिबी निवारणका लागि प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी विषयक सत्रमा मुख्य वक्ताका रुपमा भाग लिनुहुने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

एशिया प्रशान्त क्षेत्रका ६२ सदस्य र सदस्य राष्ट्र तथा संस्थाबाट दिगो विकाससम्बन्धी कार्य हेर्ने मन्त्रालयका मन्त्री तथा योजना आयोगका प्रमुखको सहभागिता रहनेछ ।

उक्त बैठकमा डा श्रेष्ठको नेतृत्वमा आयोगका सहसचिव लालशङ्कर घिमिरे, थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी तथा काउन्सिलर जङ्गबहादुर गुरुङ रहनुहुनेछ । उपाध्यक्ष डा श्रेष्ठ आइतबार नेपाल फर्कने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस्