दिल्लीमा बेचिएका नेपाली चेलीको उद्धार

0
Shares

सीताराम चौधरी, कपिलवस्तु
विचौलियाको प्रलोभनमा परी २ वर्षअघि भारतको दिल्ली पुर्याइएकी एक नेपाली चेलीको शान्ति पुनःस्थापना गृह (पीआरसी) ले उद्धार गरी आइतबार नेपाल फर्काएको छ।

शान्ति पुनःस्थापना गृह नेपालकी अध्यक्ष शान्ता सापकोटा नेतृत्वको टोली भारतको दिल्ली पुगी दिल्लीको एक कोठीबाट १५ वर्षीय बालिकाको उद्धार गरेको हो। उद्धार टोलीमा पीआरसी कृष्णनगर संयोजक भूमिराज भट्टराई, चितवनकी महिला समाजसेवी बुद्धिमाया घले, हेल्पक्रस देहरादुनका विशाल थापा, बालिकाको अभिभावक, पीआरसी कर्मचारी काजल तथा दिल्लीस्थित स्थानीय विद्यार्थीसमेत ७ जना थिए। स्थानीय विद्यार्थीहरूकै अगुवाइमा बालिकाको उद्धार गर्न सफल भएको पीआरसी कृष्णनगर संयोजक भूमिराज भट्टराईले बताउनुभयो।

उद्धार गरिएकी बालिकाको स्थायी घर मकवानपुर भए पनि चितवन बसी कक्षा ६ मा पढ्दै थिइन्। बालिका निम्न परिवारकी हुन्। मकवानपुर घर भएका हाल चितवन बस्दै आएका उर्मिला तामाङ, सुकमाया तामाङले त्यतिबेला १३ वर्षकी बालिकालाई सिलाई–कटाई, ब्युटीपार्लर तालिम दिई राम्रो जागिरमा लगाइदिने प्रलोभन देखाएर दिल्ली पुर्याएको बताइएको छ।

बालिका दिल्लीको कोठीमा रहेको विशेष सुराक पाएसँगै साताअघि अभिभावकसहित पीआरसी टोली नेपालबाट दिल्ली प्रस्थान गरेको थियो। बालिका बेचविखनमा संलग्न नेपालकै व्यक्तिले फोन गरी जानकारी गराएपछि कोठी सञ्चालकले सबै बालिकाहरूलाई ठाउँसारी गरिसकेको थियो। पीआरसी संयोजक भट्टराईले भन्नुभयो– ‘हामी दिल्लीको कोठीमा पुग्यौं, सञ्चालकले चेलीहरूलाई भगाइदिएको थियो। स्थानीय विद्यार्थीहरूको विशेष अगुवाइमा छापा मारी बालिकालाई उद्धार गर्न सफल भयौं। बालिकालाई उद्धार गर्ने क्रममा कोठी सञ्चालकसँग एकछिन झडपसमेत भयो।’

‘कोठीमा ४ सय बढी नेपाली चेलीहरूले नरकीय जीवन बिताइरहेका छन्। तर एक बालिकाबाहेक अन्य चेलीहरूलाई उद्धार गर्न सकिएन’ –पीआरसी संयोजक भट्टराईले भन्नुभयो। नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, गोरखालगायतका स्थानका सोझासाझा चेलीहरूको जीवन कहालीलाग्दो रहेको उहाँले जनाउनुभयो।

बालिकाले दिएको बयानअनुसार उर्मिला तामाङ र सुकमाया तामाङले बालिकालाई दिल्ली लगी बिक्री गरेका थिए। उर्मिला तामाङ केही वर्षपहिले नै मानव तस्करीकै घटनामा पक्राउ परिसकेकी छन्। तर, सुकमाया तामाङ भने फरार रहेको बताइएको छ। घटनामा उनीहरूबाहेक अन्य बिचौलियाकोसमेत संलग्नता रहेको पीआरसीले जनाएको छ। उद्धार गरिएकी बालिकालाई आइतबार राति चितवन ल्याइपुर्याएको भट्टराईले जानकारी दिनुभयो।

बिचौलियाविरुद्ध चितवन प्रहरीमा जाहेरी दर्ता गराई विशेष खोज अनुसन्धान प्रक्रिया अघि बढाइने बताइएको छ। उद्धार गरिएकी बालिकालाई पीआरसीले पुनःस्थापना केन्द्रमा राखी सीपमूलक कार्यमा लगाउने पीआरसी अध्यक्ष शान्ता सापकोटाले जानकारी दिनुभयो।

पीआरसी संयोजक भूमिराज भट्टराई नेतृत्वको टोलीले साताअघि पनि चितवनकी एक बालिकालाई भारतको अलिगढवाबाट उद्धार गरी परिवारको जिम्मा लगाएको बताइएको छ।

Skip This