जिउँदो मान्छेलाई मरेको बताएर जग्गा पास



नेपाल समाचारपत्र
बाँके
जिउँदो मान्छेलाई मरेको भनेर जग्गा पास गरिएको छ। कोहलपुर नगरपालिका–९, चटारका कल्लु ठठेर भन्ने दयाशंकर कौशलको मृत्यु भएको भनी जग्गा पास गरिएको हो। कौशलको नामको ३९ नम्बरको कित्ता भएको ५ कठ्ठा जमिन नक्कली कागजात तयारी गरी अर्कैले पास गरेका हुन्।

कोहलपुरका चन्द्रप्रसाद जैसी र नेपालगन्जका विजय ठठेरले कौशलको नामको जग्गा नक्कली कागजात तयारी गरी आफ्नो नाममा पास गरेका छन्। विजयले कल्लु आफ्नो हजुरबुबा भएको नक्कली कागजात तयार गरेका थिए। जैसीले पैसा लगानी र योजना बनाएका थिए।

२०७० सालदेखि नै ठगहरूले कागजी प्रक्रिया मिलाउन शुरू गरेका थिए। २०७२ सालमा आएर जग्गा पास गरेका थिए। जग्गाधनी कल्लुले अहिले आएर थाहा पाएका छन्। आफ्नो जग्गा अर्कैले पास गरिसकेको थाहा पाएपछि कल्लु प्रहरीको शरणमा पुगेका छन्।

प्रहरीले चन्द्रप्रसाद र विजयलाई नियन्त्रणमा लिएको छ। दुवैविरुद्ध प्रहरीले ठगी तथा सरकारी कागज कीर्ते मुद्दामा अनुसन्धान अघि बढाएको छ। यो घटनामा मालपोत कार्यालय र स्थानीय निकायका कर्मचारीको मिलोमतोका बारेमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।

यसैबीच प्रहरीले मलद्वारमा लुकाएर ल्याएको ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। भारतको रुपैडिहाबाट नेपालगन्ज प्रवेश गर्ने क्रममा जमुनाहामा प्रहरीले जाँच गर्दा मलद्वारमा लुकाएर ल्याएको १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित सुमन खत्री र मानबहादुर घर्तीलाई पक्राउ गरेको हो।

दैलेखका घर्ती र खत्रीले लागूऔषध बोकेर आएको विशेष सूचना आएपछि प्रहरीले कडाइका साथ खोजतलास गरेको थियो। नेपालगन्ज नाकाबाट ब्राउनसुगर ल्याएर पहाडी जिल्लामा लगेर महँगोमा कारोबार गर्नका लागि पछिल्ला दिनमा पहाडी जिल्लाका युवाहरू सक्रिय भएको प्रहरीले पक्राउ गरेको तथ्यांकले देखाएको छ। रूपैडिहामा सस्तोमा पाइने ब्राउनसुगर पहाडी जिल्लामा पुर्याउन सकेमा अधिक नाफा हुने सम्बद्धहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्