‘एमालेले नेतृत्व गरे विकासको लहर’



हेटौंडा,(नेस) ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डेले एमालेसँग मात्र विकासको भिजन भएको बताएका छन् । एमालेले सरकारको नेतृत्व गर्न पाउँदा देशमा विकासका लहरहरु आएको बताउँदै पूर्व स्थानीय विकास मन्त्रीसमेत रहेका पाण्डेले अबको स्थानीय निर्वाचनमा एमालेलाई विजयी गराउन आग्रह गरे ।

नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर १ को आयोजनामा बागमती गाउँपालिकाको फापरबारीमा आयोजना भएको जनसभामा पाण्डेले एमालेको अडानका कारणमात्र देश निर्वाचनमय भएको बताए ।

पाण्डेले देश विकासलाई गाउँतहबाट अघि बढाउन आग्रह गरे । उनले अझै पनि सरकारवादी दलहरु निर्वाचन नगर्ने खेलमा सक्रिय हुन खोजेको बताउँदै एमाले सधंै चनाखो भएको बताए ।

एमालेको मेची–महाकाली अभियानबाट तर्सिएर सरकारवादी दलहरु विभिन्न बहानामा चुनाव भाँडने षड्यन्त्रमा लागिरहेको भए पनि अब देशमा चुनाव हुन कसैले रोक्न नसक्ने दाबी उनको छ । स्थानीय तह निर्वाचनबाट देशमा संविधान कार्यान्वयनको काम सुरु हुने बताउँदै पाण्डेले निर्वाचनमा केन्द्रित हुन पार्टीपंक्तिलाई आग्रह गरेका छन् ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य विरोध खतिवडाले देशभर देखिएको एमालेको जनलहरबाट अब जनताहरु विकाससँग नजिक हुन खोजेको आभाष भएको बताए ।

एमाले क्षेत्र नं १ अध्यक्ष नारायण तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रमामा एमाले प्रदेश नम्बर ३ सदस्य कृष्णप्रसाद दाहाल, जिल्ला अध्यक्ष मुनु सिग्देल, क्षेत्र नं १ इञ्चार्ज कमल बिष्ट, युवा संघ केन्द्रीय कोषाध्यक्ष हिदम लामालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसनिकट तरुण दलका वालकुमार तिमल्सिना, नेपाली कांग्रेसका पूर्व गाउँ सहसचिव नवराज गौतम, माओवादी केन्द्र जिल्ला सदस्य राजकुमार वाइबा, राप्रपाका टंकबहादुर स्यांंतानसहित ८ सय ५३ जना एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्