मधेसी मोर्चा चुनावमा आउन सहमत भइसकेको छः थापा



नेपाल समाचारपत्र
हेटौंडा
राप्रपाका अध्यक्ष तथा उपप्रधान र स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय निकाय चुनावमा सहभागी हुन सम्पूर्ण नेपाली एवम् राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ।

राप्रपा मकवानपुरले शनिबार गरेको आफ्नो स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री थापाले करिब २० वर्षपछि हुन लागेको चुनावले स्थानीय सरकारको निर्माण गर्ने भएकाले चुनावमा सम्पूर्ण नेपालीको सहभागिता अत्यावश्यक रहेको बताउनुभयो।

उहाँले मधेसका समस्या समाधान गर्न अघि बढेको मोर्चालाई समेटेर सबै दल स्थानीय तहको निर्वाचनमा होमिने बताउनुभयो। थापाले राप्रपा सरकारमा प्रवेश गरेपछि मधेसका मुद्दालाई मिलाएर मोर्चालाई पनि सँगै लिएर हिँड्ने रणनीति अवलम्बन गरेको बताउनुभयो।

‘स्थानीय चुनावमा कुनै दल अलग हुनु हुँदैन।’ –मन्त्री थापाले मधेसी दललाई वार्तामा ल्याएर चुनावमा सहभागी गराउन राप्रपाले हरसम्भव प्रयास गरेको बताउनुभयो।
‘सरकार, मधेसी मोर्चाका माग ससम्मान सम्बोधन गर्दै सहज ढंगले चुनाव सफल पार्ने कार्यमा जुटेको छ’, उपप्रधानमन्त्री थापाले भन्नुभयो– ‘सीमांकन हेरफेरका मागलाई थाती राखेर मधेसी मोर्चा चुनाव लड्न तयार भइसकेको छ।’ उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणबाट फर्किएपछि मधेसी मोर्चासँग सम्झौता गरेर मधेसमा सहज चुनाव हुने वातावरण बनाइने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्