तारे होटलमा बसेर चोरी गर्ने इरानी पक्राउ



नेपाल समाचारपत्र
काठमाडौं
राजधानीका विभिन्न ठाउँमा चोरी गर्दै हिँड्ने इरानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। राजधानीका विभिन्न पसलहरूमा सामान किन्ने वहानामा प्रवेश गरी रकम चोरी गर्दै हिँड्ने गिरोहका दुई जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ।

बितेको ४० दिनदेखि नेपालमा बस्दै आएका ती इरानी नागरिकले राजधानीका दुई दर्जनभन्दा बढी ठाउँमा दिउँसै ठगी गर्दै आएको प्रहरीले जानकारी दिएको छ।

ठमेलको वैशाली होटलमा ५ वटा कोठा लिएर बसेका उनीहरूले कार भाडामा लिएर ठगी गर्दै आएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो।

केही दिनअघि सो समूहका ७० वर्षीय गलाम वलवक र ३३ वर्षीय मोहमद रोजाको टोलीले कुलेश्वरका दुई पसलबाट ठगी गरेर भाग्दै गरेको अवस्थामा कालिमाटी प्रहरीलाई जानकारी गराएपछि प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

१४ जनाको टोलीसहित नेपाल आएका गलाम उक्त योजनाका म्ुख्य योजनाकार भएको डीएसपी अधिकारीले जानकारी दिनुभयो। पसलमा सामान किन्ने बहानामा जाने र काउन्टरभन्दा टाढाको सामान मागेर काउन्टरको पैसा चोरी गर्ने गरेको रहस्यसमेत प्रहरीले पत्ता लगाएको छ।

प्रहरीले उक्त ग्याङमा संलग्न रहेको आशंका अन्य चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक कोमल शाहले आफ्नो क्षेत्रमा पनि कालिमाटीकै जस्तो घटना भएकाले उनीहरूलाई नियन्त्रणमा लिएको भए पनि अहिलेसम्म सनाखत हुन नसकेको जानकारी दिनुभयो।

हिन्दी भाषा बोल्ने ती इरानीहरूले नेपालमा यस्ता प्रकारका थुप्रै पसलेहरूसँग ठगी गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ। प्रहरीले सो समूहमा रहेका अन्य ८ जनाको पनि खोजी तीव्र बनाएको जानकारी दिएको छ। उनीहरू अहिले वैशाली होटल छाडेर भागेकाले उनीहरू लुक्न सक्ने सम्भावित ठाउँको समेत खोजी गरीरहेको प्रहरीले दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्