४ महिनामा ६ को मृत्यु



भद्रपुर, (नेस)

क्षयरोगका कारण चार महिनाको अवधिका झापामा ६ जनाको ज्यान गएको छ। गत आव ०७२÷७३ मा ५ महिलासहित २२ जनाको ज्यान गएकोमा चालू आवको प्रथम चौमासिकमा १ महिलासहित ६ जना बिरामीको उपचारका क्रममा ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ।

क्षयरोग अन्त्यका लागि सबै संगठित होऔं भन्ने सन्देशका साथ विश्व क्षयरोग दिवसको अवसर पारेर शुक्रबार बिहान कार्यालयले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरेको हो। बढ्दो शहरीकरण, जनचेतना अभाव, रोग लुकाउने प्रवित्त, बढ्दो जनघनत्व र नियमित औषधि सेवन नगरेका कारण बिरामीको ज्यान गइरहेको क्षय–कुष्ठ अधिकृत प्रमोद दाहालले जनाए। निःशुल्क रूपमा राम्ररी उपचार भइरहे पनि मृत्यु हुने क्रम नरोकिएको दाहालको भनाइ छ।

चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा झापामा ३ सय ७२ जना उपचारका लागि दर्ता भएका छन्। जसमा १ सय २७ महिला र २ सय ४५ पुरुष रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ। गत आव ७२÷७३ मा ३ सय ८० महिलासहित १ हजार ७६ जना उपचारका लागि आएको दाहालले जनाएका छन्। क्षयरोगीको संख्यामा झापाका प्रायः पन्ध्र स्थानमा रोगीको संख्या अधिक रहेको जनाइएको छ।

कार्यालयले दिएको जानकारीअनुसार १४ महिलासहित ५० जना रोगी गरी सबैभन्दा बढी दमकमा देखिएको छ। जनस्वास्थ्य कार्यालयमा आबद्ध स्वास्थ्य संस्थामा दर्ता भएअनुसार अनारमनीमा २७, सुरु·ामा २५, भद्रपुरमा र धुलाबारीमा १९÷१९, शनिश्चरेमा १७, काँकडभिट्टामा १५, बाहुनडाँगीमा १२, गरामनीमा ११, तोपगाछीमा ९, बनियानी, जुरोपानी सतासीधाममा ८÷८ र बुधबारे र गौरादहमा ७÷७ जना क्षयरोगका बिरामी रहेको कार्यालयले जनाएको छ।

क्षयरोगका कारण वर्षेनी २० देखि २५ जनाको मुत्यु हुने गरेकाले झापा क्षयरोगको उच्च जोखिममा रहेको पाइएको छ। क्षयरोग एक प्रकारको सरुवा रोग भएकाले झापामा बढी जनघनत्व भएका क्षेत्र बढी जोखिममा रहेको कार्यालयको तथ्यांकले देखाएको छ। नेपालको कुल जनसंख्यामध्ये ४५ प्रतिशत मानिस क्षयरोगबाट संक्रिमत हुने गरेका छन्। जसमा १५ देखि ४९ वर्षसम्ममा बढी देखिएको छ। हाल नेपालमा ८० हजार क्षयरोगका बिरामी रहेकोमा हरेक वर्ष ५ देखि ७ हजारले ज्यान गुमाउँदै आएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्