मोबाइल शौचालय नहुँदाको मार



ईश्वरराज ढकाल, काठमाडौं

राजधानीमा एउटा पनि मोबाइल ट्वाइलेट छैन। भएको मोबाइल ट्वाइलेटमा काठमाडौं महानगरपालिकाले ताला लगाइदिएपछि राजधानीमा घुम्न र अन्य काममा आउने जनतालाई शौच गर्न समस्या परेको छ।

महानगरपालिकाले सात महिनाअघि तीनवटा मोबाइल ट्वाइलेटले जनतालाई सेवा दिँदै आएको थियो। ट्वाइलेट सञ्चालकसँगको सम्झौता अवधि सकिएकाले ती ट्वाइलेट बन्द भएका थिए। पछि कामपाकै वातावरण व्यवस्थापनमा कार्यरत कर्मचारीको मिलोमेतोमा कोटेश्वर, बानेश्वर, सुन्धारा र दरबार स्कुल अघि मोबाइल ट्वाइलेट राखिएको थियो।

२० वर्ष पुरानो सवारीसाधन प्रयोग गरी गुडाउनै नमिल्ने बसलाई मोबाइल ट्वाइलेट बनाइएकोमा कामपाले आपत्ति जनाउँदै ती ट्वाइलेट बन्द गराएको थियो। कामपा राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले चल्दै नचल्ने नाममात्रको मोबाइल ट्वाइलेट सञ्चालकले कामपालाई राजस्व नबुझाएपछि बन्द गराएको स्पष्ट पार्नुभयो।

‘अहिले मोबाइल ट्वाइलेट नै छैन, बाटो हिँड्ने बटुवादेखि अन्य कामका लागि राजधानी आउने सर्वसाधारणलाई समस्या पर्न थालेको छ’ –उहाँले भन्नुभयो। कामपा वातावरण व्यवस्था विभागको मातहतमा रहेको मोबाइल ट्वाइलेट नियम विपरीत सञ्चालन गरेको कारण कामपाले बन्द गराइदिएको हो। नियम विपरीत सञ्चालन भएका मोबाइल ट्वाइलेट बन्द गरेको जानकारी गराउँदै कामपाका महानगर प्रहरी डीएसपी दिनेश अर्यालले भन्नुभयो– ‘नियम विपरीत सञ्चालन गरेका कारण बन्द गराएका हौं।’

वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले दुई महिनादेखि राजधानीमा मोबाइल ट्वाइलेट सञ्चालन हुन नसकेको उल्लेख गर्नुभयो। राजधानीको विभिन्न स्थानमा सयभन्दा बढी मोबाइल ट्वाइलेट आवश्यक परेको अवस्थामा एउटा पनि सञ्चालनमा आउन नसक्नु कामपाको गम्भीर कमजोरी हो।

यसैबीच मोबाइल ट्वाइलेट बन्द भए पनि कामपाले राजधानीको ४८ स्थानमा सार्वजनिक शौचालय बनाउने तयारी गरेको छ। कामपाले राजधानीको कालिमाटी, टेकु, त्रिपुरेश्वर, लाजिम्पाट, बागबजार, कोटेश्वर, बल्खुलगायतका स्थानमा सार्वजनिक शौचालय बनाउन लागेको हो। निजी, सार्वजनिक साझेदारी कार्यक्रमअन्तर्गत ४८ स्थानमा शौचालय निर्माण गर्न लागिएको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो।

त्यसका लागि कामपाले १० वर्षसम्म प्रयोग गर्न पाउने गरी टेन्डर आह्वान गरिसकेको छ। शौचालय निर्माण गर्न इच्छुक कम्पनीले शौचालय निर्माण भएपछि विज्ञापन गर्ने, शौैच गरेको रकम सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ।

‘टेन्डर गरिसकेका छौं, अबको तीन महिनाभित्र राजधानीको विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण हुनेछ’ –प्रवक्ता कार्कीले भन्नुभयो। शौचालय निर्माण गर्र्र्ने सडक छेउको स्थानलाई सडक विभागले स्वीकृत दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्