निःशुल्क शिविरमा बिरामीको घुइँचो



नेपाल समाचारपत्र
गौर, रौतहट

रौतहटको सदरमुकाम गौरमा सञ्चालित शिविरमा उपचार गराउन आउने बिरामीको संख्या दिनदिनै बढेर गएको छ। जिल्ला अस्पताल गौरबाट सेवा प्रभावकारी हुन नसकेका कारण शिविरमा उपचार गराउनेको संख्या बढेर गएको स्थानीय बासिन्दाले स्वास्थ्यमन्त्री गगन थापालाई गुनासो गरेका छन। स्वास्थ्यमन्त्री गगन थापाले शुक्रबार मात्रै रौतहटको गौरमा सञ्चालित शिविरको निरीक्षण गर्नुभएको छ।

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत ८ गतेदेखि निःशुल्क सघन स्वास्थ्य शिविर सञ्चालन भएको हो। शिविर निरीक्षणमा रहनुभएका स्वास्थ्यमन्त्री थापाले जिल्ला अस्पताल गौरको समेत निरीक्षण गर्नुभएको छ। उहाँले शिविरमा औषधि र सामग्रीको अभाव हुन नदिने बताउनुभएको छ। सो अवसरमा उहाँले जिल्ला अस्पतालबाट सेवा प्रभावकारी हुन नसक्दा शिविरमा बिरामीको घुइँचो लागेको बताउनुभयो। यसले पनि यक्ष प्रश्न उठेको बताउँदै उहाँले अस्पतालको सुदृढीकरणका लागि देशभर नै थप कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो। यसका लागि अस्पतालबाट चाहिने सामग्रीको तथ्यांक माग गरिसकेको र यसै आर्थिक वर्षमा सबै अस्पतालमा पु¥याई सकिने उहाँले बताउनुभयो।

शिविरमा उपचार गराउन आएका बिरामीको भीडलाई उहाँले अझै पनि नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित रहेको अवस्था आफूले पाएको बताउँदै यसबाट शिक्षा लिँदै आगामी दिनमा शिविर सञ्चालन हुँदा कम संख्यामा बिरामी आउने अवस्था आउने उहाँले दाबी गर्नुभयो। मन्त्री थापाले उपचारका लागि नेपाली सेनाको अस्पताल सर्वसाधारण नागरिकका लागि खुला गरिएको बताउनु हँदै उहाँले नेपाली सेनाको अति विशिष्ट व्यक्तिको उपचार कक्षलाई स्तरोन्नति गरेर कुनै पनि नेपाली विशिष्ट पद धारण गर्नुभएकालाई नेपालभन्दा बाहिर उपचार गर्ने कुरालाई सम्पूर्ण रूपले बन्द गर्नका लागि स्वास्थ्य मन्त्रालय र नेपाली सेनाबाट स्तरोन्नति गर्ने काम प्रारम्भ भइसकेको बताउनुभयो। जिल्ला अस्पतालमा स्थायी मेडिकल अधिकृत र एक जना बालरोग बिशेषज्ञको व्यवस्था गरिने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्