काबेली–‘ए’ जलविद्युत् आयोजनाको शिलान्यास



रविन भट्टराई, ताप्लेजुङ

ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण हुन लागेको प्रतिक्षित काबेली–‘ए’ जलविद्युत् आयोजनाको चर्चा भएको छ वर्षपछि बल्ल शिलान्यास भएको छ। शिलान्याससँगै अब आयोजनाको निर्माण कार्यले तीव्रता पाउने भएको छ। २०६७ सालदेखि नै आयोजना निर्माणका लागि विभिन्न प्रक्रिया शुरू गरेको सो आयोजनाको बिहीबार शिलान्यास गरिएको हो।

३७ दशमलब ६ मेगावाटको उक्त आयोजना करिब १० अर्र्ब रुपियाँको लगानीमा निर्माण हुन लागेको काबेली इनर्जी प्रालिका अध्यक्ष प्रदीप श्रेष्ठले बताउनुभयो। जसमा ४ अर्ब विश्व बैंक, ४ अर्ब आईएफसी र २ अर्ब रुपियाँ बुटवल पावर कम्पनीको लगानी रहेको श्रेष्ठको भनाइ छ।

झिझ्याङ र टीडब्लुसीडब्लु नामक दुईवटा चिनियाँ कम्पनीले आयोजना निर्माणको जिम्मा पाएका छन्। पाँचथरको अमरपुर–२ र ५ को खोलाखर्कमा पोखरी निर्माण गरी साढे चार किलोमिटर सुरुङमार्ग बनाई पिनासी घाटमा पावर हाउस निर्माण गरिने तयारी रहेको सहयोगी संस्था इन्फ्राको एसिया प्रमुख एलाडको भनाइ छ।

शिलान्यास भएसँगै अब सुरुङमार्गको काम शुरू भएको २०७७ सालसम्ममा विद्युत उत्पादन हुने आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयोे। सो आयोजनामा काम गर्न चीनबाट नै कामदार ल्याइएको छ।

पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङखोल्याङ गाविस आयोजनाबाट प्रभावित क्षेत्रमा पर्छन्। यसअघि आयोजनास्थलमा जाने सडक सरकारका नाममा पास गर्ने, सडक निर्माण गर्ने काम मात्र भएको थियो। काबेली ‘ए’ जलविद्युत् आयोजनाका आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठका अनुसार बाटो खनिएपछि प्रयोग नआएकाले क्षतिपूर्तिवापत स्थानीयबासीलाई तत्कालीन जिल्ला दररेट अनुसार ७५ प्रतिशत मूल्य बाटोमा प्रयोग गरिएको जग्गाको दिइएको थियो।

भालुचोकदेखि खोलाखर्कसम्म जाने आठ किलोमिटर र भालुचोकबाट पिसानी जाने बाटोमा पर्ने जग्गाका धनिलाई क्षतिपूर्ति दिइँदै जग्गा सरकारको नाममा पास गरिसकिएकाले अब काममा बाधा नआउने आयोजनाको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्