अनलाइन निर्देशिकाप्रति प्रेस युनियनको ध्यानाकर्षण



काठमाडौँ, ११ चैत । नेपाल प्रेस युनियनले सरकारले हालै राजपत्रमा प्रकाशित गरिएको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनले आज एक विज्ञप्तिमार्फत यसअघि गरेको विरोध तथा सरोकारवालाको चासो विपरीत निर्देशिकाको संशोधित रूप सार्वजनिक भएकोमा आपत्ति प्रकट गरेको छ ।

प्रेस कानुनसँग कुनै सरोकार नभएको सुशासन (व्यवस्था तथा सञ्चालन) ऐनअन्तर्गत जारी निर्देशिका अभिव्यक्ति स्वन्त्रताको विश्वव्यापी मान्यता र संविधानले ग्यारेन्टी गरेको प्रेस स्वन्त्रता विपरित रहेको युनियनको ठहर छ ।

“न्यायिक परीक्षणबिनै सञ्चार माध्यमको सञ्चालनमा अवरोध गर्न सकिने र प्रशासनिक निकायले सम्पादकीय र सूचना सम्प्रेषणको प्रक्रियामा हस्तक्षेप गर्नसक्ने जस्ता प्रावधान कायमै राखी आएको निर्देशिकाले यस क्षेत्रको विकासलाई कुण्ठित गर्ने प्रस्ट छ” विज्ञप्तिमा उल्लेख छ ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा सरकारले अनलाइनलाई नियन्त्रण गर्ने सोचबाट ल्याएको निर्देशिका खारेज गरी सबै सरोकारवाला सङ्घ संस्था समेतको सहभागितामा नयाँ व्यवस्थाका लागि माग गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्