सवारीसाधनको उपयोग र दुर्घटनाको प्रसंग



सुदर्शन अधिकारी

मानिस वा जनावरको शक्तिबाट चल्ने अथवा इन्जिनको सहायताबाट चल्ने सवारीका साधनहरूलाई सवारीसाधन भन्ने गरिन्छ। साइकल, रिक्सा, टाँगा, घोडाजस्ता मानिस तथा जनावरको शक्तिबाट चल्ने र मोटरसाइकल, मोटरगाडी आदि इन्जिनको सहायताबाट चल्ने प्रविधियुक्त साधनसमेत सवारीसाधनको परिभाषामा पर्दछन्। तर विस्तृतरूपले व्याख्या गर्दा वैज्ञानिक आविष्कारबाट निर्मित सवारीका साधनलाई सवारीसाधन भन्ने गरिन्छ। यस्ता सवारीसाधनले हाम्रो जीवनलाई धेरै सहज बनाएको छ। तर यस्ता साधनले जीवनलाई जोखिमपूर्ण पनि बनाएको छ।

वर्तमान समयमा सवारीसाधन वरदान साबित भएको छ। सवारीसाधनको आविष्कारले घन्टौँ लगाएर हिँड्नुपर्ने समस्याबाट मुक्ति मिलेको छ। तर पछिल्ला वर्षहरुमा बढ्दै गएको सवारी दुर्घटनाले ठूलो धनजनको क्षति पनि भइरहेको छ। नेपालमा सवारीसाधनको सञ्चालनको इतिहासलाई हेर्ने हो भने वि.सं. १९९५ मा राणा प्रधानमन्त्री जुद्धशमशेरको पालादेखि यहाँ मोटरगाडी चल्न शुरु भएको पाइन्छ। त्यस समय राणाहरूको सुविधाका लागि मात्र यी सवारीसाधन प्रयोग गरिन्थे। बिस्तारै यस्ता सवारीसाधन सर्वसाधारणका लागि छुट गरियो। वि.सं. २०२० फागुन २१ मा नयाँ सवारी ऐन जारी भएपछि सवारीसाधनमा नम्बर लगाउने व्यवस्था भएको थियो।

चालकलगायत पैदल यात्रुसम्मका सडक प्रयोगकर्ताले सवारी नियमको पालना सही रूपमा गरेमा सवारी दुर्घटनाको सम्भावनालाई घटाउन सकिन्छ। तर सवारीचालक र पैदल यात्रुहरूले सवारी नियमलाई पालना नगर्दा अहिले धेरै सवारी दुर्घटना भइरहेका छन्। पैदल यात्री तथा स्वयं चालकलाई ट्राफिक सङ्केतको सही ज्ञान नहुनु, ज्ञान भए पनि त्यसको सही तरिकाले पालना नगर्नु, पैदल यात्रीले जेब्रा क्रसिङको प्रयोग नगर्नु, सवारी चापको वृद्धि हुँदै जानु, सवारीसाधनको सङ्ख्याअनुसार सडकको विस्तार नहुनु, भएका सडकको अवस्था पनि जीर्ण हुनु, सडकहरू सवारी–मैत्री नहुनुजस्ता अनेकौं कारणले सवारी दुर्घटनाको दरलाई बढाएको तथ्याङ्कबाट देखिन्छ।

विशेष गरी सवारीचालकले आफ्नो सहयोगी सहचालकलाई सिकाउने गरेका कारण प्रायः दुर्घटना हुने गरेको पाइन्छ। त्यस्तै लामो दूरीमा चल्ने सवारीसाधनमा दुईजना चालकको व्यवस्था गर्नुपर्ने ऐनमा व्यवस्था भए पनि एउटै मात्र चालक राख्दा पनि दुर्घटना बढिरहेको पाइन्छ। एउटै चालकले लामो समयसम्म सवारी हाँक्दा मानसिक तथा शारीरिक थकावट हुने र यसले दुर्घटना हुने गरेको पाइएको छ। त्यसै गरी तीव्र गतिमा सवारीसाधन चलाउने गर्नाले पनि दुर्घटना भएका छन्। मानवबस्ती भएको स्थानमा तथा बस्तीछेउछाउको व्यस्त सडकमा तीव्र गतिमा सवारी चलाउनलाई नियन्त्रण गर्न सवारीसाधनको गति नाप्ने यन्त्र राडर गनको व्यवस्था गर्न सकेमा दुर्घटनामा केही कम आउने देखिन्छ।

सडकमा डिभाइडर, रिफ्लेक्टर, ट्राफिक सिग्नल, ट्राफिक लाइट, ट्राफिक पोस्ट, ढल, सडकपेटी, यात्रु प्रतीक्षालय, आकस्मिक उपचार केन्द्र, जेब्रा क्रस आदि सुविधामा विशेष ध्यान पुर्याउन सकेमा सवारी दुर्घटनालाई न्यून गर्न सकिन्छ। यात्रुवाहक सार्वजनिक यातायात आचारसंहिता २०६७ को नियम ६ (१) अनुसार सार्वजनिक सवारीसाधनमा चालक र परिचालकले यात्रुसँग र यात्रुले उनीहरूसँग सभ्य भाषाको प्रयोग गरी कुराकानी गर्नुपर्ने व्यवस्था गरिए पनि यात्रु र सवारीचालक, सहचालक दुवै पक्षले यस नियमको पालना गरेको पाइँदैन। सवारी चालकले सवारी चलाउँदा गफ गर्ने, मोबाइल चलाउने, रेडियो एयरफोनमा व्यस्त हुने कार्य गर्न सवारी नियमले निषेध गरेको छ। तर यसको पालना नहुँदा सवारी दुर्घटना बढिरहेको पाइन्छ। सरकारले सडक दुर्घटना न्यूनीकरण गर्न यातायात सुरक्षालाई उच्च प्राथमिकतामा राखेर योजना बनाई कडाइका साथ कार्यान्वयन गर्न जरुरी देखिन्छ।

हाम्रो देशको भौगोलिक बनावट, जनताको आर्थिक स्थिति आदिलाई हेर्दा सडक यातायात नै कम खर्चिलो र भरपर्दो देखिन्छ। हवाईमार्ग, रेलमार्ग, रोपवे, केबलकारहरू सडक यातायातको तुलनामा बढी खर्चिलो हुन्छ। तसर्थ हाम्रो लागि अनुकूल मानिएको सडक यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन सडक निर्माण गर्नुअगाडि नै प्राविधिकको रायअनुसार निर्माण गरेर भरपर्दो बनाउनुपर्छ। भएका सडकको उचित मर्मत सम्भारमा ध्यान दिने र कानुनको कडाइका साथ कार्यान्वयन गर्न सकेमा सवारी दुर्घटना न्यून गर्न सकिन्छ। त्यस्तै अपुग भएका केही नियमहरू निर्माण गरी लागू गर्ने र ती नियमको प्रभावकारी कार्यान्वयनमा जोड दिन सकेमा पनि दुर्घटना दर घट्न सक्छ।

दुर्घटना बढ्नुको अर्को कारण भनेको धेरै वर्ष पुराना र जीर्ण भइसकेका सवारीसाधनलाई निर्बाधरूपमा चल्न दिनु पनि एक हो। पुराना सवारीसाधनलाई विस्थापित गर्ने नीति ल्याई हटाउनु आवश्यक देखिन्छ। दुर्घटना कम गरी सुरक्षित यात्रा गराउनका लागि यातायात व्यवसायी र यातायात व्यवस्था विभागका बीच समन्वयको खाँचो छ। यसका साथै ट्राफिक प्रहरी वा सवारी निरीक्षकबाट नियमित अनुगमन गरी नियम कार्यान्वयनमा जोड दिन सकिएमा बढ्दो क्रममा रहेको सवारी दुर्घटनाको क्रम धेरै मात्रामा कम गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्