मानिस उही, ठेगाना दुई



नानीराम नेपाल, सिन्धुपाल्चोक
इन्द्रावति गाउँपालिका–१२ नम्बर वडा कार्यालयको सिफारिस लिएर मंगलबार रमेश दनुवार नागरिकता प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा आए। नागरिकता सिफारिसमा उनको नयाँ ठेगाना उल्लेख गरिए पनि प्रशासन कार्यालयले जारी गरेको उनको नागरिकतामा ठेगाना बदलिएन। इन्द्रावति गाउँपालिकाको वडा कार्यालयको सिफारिसमा रमेशले साविककै भीमटार–२ स्थायी ठेगानाको नागरिकता लिए। नागरिकता सिफारिसमा स्थानीय तहको नाम बदलियो तर उनको नागरिकतामा ठेगाना फेरिएन।

हेलम्बु गाउँपालिका–६ का विजय तामाङले पनि स्थानीय तहको नयाँ संरचनाअनुसारको नागरिकता पाएनन्। मंगलबार गाउँपालिकाकै सिफारिसमा नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा आएका उनी पनि साविकको इचोक गाउँ विकास समिति–१ को नागरिकता लिएर फर्किए। नागरिकताको सिफारिसमा गाउँपालिकाकै छाप छ, जन्मदर्ता प्रमाणपत्रमा पनि गाउँपालिकाकै ‘लेटरहेड’ छ। तर उनको नागरिकतामा ठेगाना फेरिएन, साविककै कायम रह्यो।

मंगलबार नागरिकता प्रमाणपत्र प्राप्त गरेपछि भोटेकोसी गाउँपालिका–१ तातोपानीकी सानु बिक अन्योलमा परिन्। सिफारिसमा एउटा ठेगाना छ, नागरिकतामा भने अर्कै। उनले पनि सिफारिसअनुसारको नागरिकता पाइनन्। सिफारिसमा भोटेकोसी गाउँपालिका वडा नम्बर १ भए पनि उनको नागरिकतामा स्थायी ठेगाना तातोपानी–६ नै रह्यो।

स्थानीय तहको पुनर्संरचनापछि गाउँ विकास समितिको संरचना रहेन। गाउँ विकास समितिहरूलाई आपसमा गाभेर गाउँपालिका र नगरपालिका घोषणा भइसकेका छन्। जिल्लाको संरचना नै अब बदलिएको छ तर जिल्लाबासीका ठेगाना भने बदलिएको छैन। जिल्ला प्रशासन कार्यालयले जारी गर्ने नागरिकता प्रमाणपत्रमा जिल्लावासीको ठेगाना बदलिएको छैन।

नागरिकताको सिफारिसमा र नागरिकता प्रमाणपत्रमा फरक–फरक ठेगाना भएपछि जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिन आउने सेवाग्राहीहरू अचम्मित मात्र छैनन्, अन्योलमा परेका छन्। ‘गाउँपालिकाको सिफारिस लिएर आइयो, नागरिकतामा त पुरानै ठेगाना कायम रहेछ।’ –इन्द्रावती गाउँपालिका–५ का विपीन कोइरालाले भने।

स्थानीय तह पुनर्संरचनापछि गाविसको अस्तित्व नै नरहे पनि नागरिकतामा साविककै ठेगाना हाल्नुपरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। गृह मन्त्रालयको नागरिकता सूचना प्रणालीमा नयाँ संरचनाको नाम समाविष्ट नहुँदा समस्या परिरहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हेमराज फुयाँल बताउँछन्।

‘मन्त्रालयले सिस्टम अपडेट नगरेसम्म हामीले यहाँबाट केही गर्न सक्दैनौं।’ –उनले भने। केही दिनमै मन्त्रालयले नागरिकता सूचना प्रणाली परिमार्जन गर्ने र त्यसपछि मात्र नयाँ संरचनाअनुसारको ठेगाना उल्लेख गरिने उनले बताए। ‘नागरिकता सूचना प्रणालीमा नयाँ बनेका स्थानीय संरचनाको नाम नै छैन, साविककै गाविसका नाम मात्र छ।’ –फुयाँल भन्छन्।

प्रशासनले गृह मन्त्रालयमा यसबारे पटकपटक जानकारी पनि गराइसकेको छ। गृह मन्त्रालयको नागरिकता तथा परिचयपत्र व्यवस्थापन शाखामा मौखिकरूपमा जानकारी गराइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्