चीन भ्रमणमा द्विपक्षीय सम्झौता हुँदैनः प्रम



काठमाडौं, (नेस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न केन्द्रित हुने बताउँदै भ्रमणका क्रममा द्विपक्षीय सम्झौता नहुने प्रस्टइउनुभएको छ।

चीन प्रस्थान गर्नुअघि पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्र मन्त्रीहरू र कूटनीतिक क्षेत्रका जानकारहरूसँग भ्रमणबारेको सुझाव लिने क्रममा उहाँले यस्तो बताउनुभएको हो।

छलफलमा सहभागीहरूले नेपाल–चीनबीच विगतमा भएका सन्धि–सम्झौताको कार्यान्वयन गर्ने वातावरण बनाउन सुझाव दिँदै द्विपक्षीय सम्बन्धलाई अझ निकट बनाउन भ्रमण केन्द्रित हुनुपर्ने बताएका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल सहभागी हुनुहुन्थ्यो भने अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुनुहुन्थ्यो।
पूर्वप्रधानमन्त्री खनालले नेपालको आर्थिक विकास कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको चीनसँग चिसिँदै गएको सम्बन्ध सुधार्दै अघि बढ्नुपर्ने सुझाव दिनुभएको थियो।

पूर्वपरराष्ट्र मन्त्री रमेशनाथ पाण्डे, पूर्वराजदूतहरू टंक कार्की, राजेश्वर आचार्यलगायतले सम्बन्ध सुधार्न भ्रमण केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको थियो। त्यसैगरी व्यवासायीहरू राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, हरिभक्त शर्मालगायतले भूकम्पपछि अवरुद्ध तातोपानीसहित र अन्य नाका खुलाउने वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकषर्ण गराउनुभएको थियो।
राजनीतिक गतिरोधको निकास खोज्ने प्रयासबारे बिहीबार गर्नुभएको छलफलका क्रममा एमाले अध्यक्ष ओली, उपाध्यक्ष वामदेव गौतमसँगको भेटमा प्रधानमन्त्री दाहालले चीन भ्रमणबारे जोड दिनुपर्ने पक्षमा सुझाव माग्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्