महान्यायाधिवक्ता हुल्याहाः ओली



काठमाडौं, (नेस)
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महान्यायधिवक्ता पार्टीको हुल्याहा कार्यकर्ता भएको आरोप लगाउनुभएको छ।

उहाँले महान्यायाधिवक्ता रमण श्रेष्ठले सरकारको कानुनी सल्लाहकारको हैसियतले गलत क्रियाकलाप गरिरहेको आरोप लगाउनुभयो। महान्यायाधिवक्ताले आफ्नो अनुकूलको न्यायाधीश र बेन्च भए बहस गर्ने अनि अनुकूल नपरे बहस नगर्ने भन्दै उहाँ पार्टीको कार्यकर्ता भएको ठोकुवा गर्नुभयो।

राप्रपाले विधानमा रहेको हिन्दुराष्ट्र र राजतन्त्र हटाउने विषयलाई इंकित गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘महान्यायाधिवक्ता श्रेष्ठले गलत निर्णय गरेको कारण निर्वाचन आयोगसमेत विवादमा तानिएको हो।’ अरूको विधान चलाउने अधिकार महान्यायाधिवक्तालाई नभएको तर्क राख्दै उहाँले भन्नुभयो– ‘अहिले महान्यायाधिवक्ताले गलत काम गरिरहेका छन्, यो अशुभ संकेत हो।’

उहाँले एमालेको मेची–महाकाली अभियानका स्वयंसेवकलाई धन्यवाद दिन मंगलबार आयोजित कार्यक्रममा २ नम्बर प्रदेशमा भव्य कार्यक्रम गर्ने तयारी भैरहेको बताउनुभयो। ‘अहिले केही आफैंलाई बुद्धिजीवी घोषणा गर्नेहरूले एमालेको ज्योति तराईमा पर्यो भने सबै अँध्यारो भ्रम हट्छ भनेर हल्ला गरेका छन्’, उहाँले भन्नुभयो– ‘उनीहरूले हल्ला गर्दैमा एमालेको कार्यक्रम रोकिन्न। तराईमा एमालेलाई प्रवेश नै गर्न नदिने भन्दै हल्ला गर्नेहरूलाईसमेत चुनौती दिएर कार्यक्रम गर्छौं।’

उहाँले बु्द्धीजीवीलाई फर्सीको संज्ञा दिँदै भन्नुभयो– ‘उनीहरू त हेर्दा राम्रा हुन्छन् भित्र बिग्रिएको। अहिले केही बुद्धिजीवीले अन्य पार्टीको बहकाइमा लागेर श्रीमान् गम्भीर गीत गाउन लागेका छन्, साँच्चिकै बुद्धिजीवी हुन् भने त यो नेपाली शीर उचाली गाउनुपर्छ।’

उहाँले एमालेलाई घेराबन्दी गर्ने षड्यन्त्र गरिरहेका नेपाली कांग्रेस र माओवादीले एमालेको लोकप्रियता सहन नसकेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो– ‘अब एमाले पहिलो पार्टी हुन्छ भनेर नै स्थानीय निर्वाचन नगराउने षड्यन्त्र भइरहेको छ।’

उहाँले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर–२ मा एमालेले भव्य कार्यक्रम गर्ने जानकारी दिएका गराउनुभयो। मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा स्वयंसेवक भूमिका निर्वाह गर्ने र सञ्चारकर्मीलाई सम्मान गर्न एमाले केन्द्रीय कार्यालयले आयोजना गरेको कार्यक्रममा उहाँले अहिले एमालेले गर्दा देश अनिर्णयको बन्दी भयो भनेर कांग्रेसकै नेताले झुट कुरा गरेको भन्दै त्यस्ता झुट र बेइमान कुरा नगर्न आग्रह गर्नुभयो।

उहाँले एमालेकै निति र कार्यक्रममा सरकार सञ्चालन भइरहेको दाबी गर्दै भन्नुभयो– ‘अहिले जे भएको छ, मेरै प्रधानमन्त्रीत्वकालमा भएको निर्णयअनुसार काम गरिरहेको छ।’ कार्यक्रमा बोल्दै वरिष्ठ नेता माधवकुमार नेपालले एमालेले प्रदेश नम्बर–२ मा भव्य कार्यक्रम आयोजना गरिरहेको बताउनुभयो। उहाँले मुलुक बनाउने जिम्मेवारी एमालेको रहेको र अब थप जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले संविधान संशोधन मधेसको माग नभएर केही नेता र पार्टीको भएको उहाँको भनाइ थियो।

‘संविधान संशोधन होइन अब चुनावमा लाग्नुपर्छ’ –उहाँले भन्नुभयो। महासचिव ईश्वर पोखरेलले समृद्ध मुलुकका लागि स्थानीय निर्वाचन अपरिहार्य भएको बताउनुभयो। उहाँले अब सबै नेता र कार्यकर्ता जिल्ला केन्द्रित चुनावी कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो। उहाँले स्थगित भएको २ नम्बर प्रदेशको यात्रा केही दिनमै तय हुने जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्