नक्कली कार्डको प्रयोग गरी ३ करोड ठगी



काठमाडौं, (नेस)
काठमाडौंलगायत भारतका ठूला व्यवसाय सञ्चालनमा रहेका पोइन्ट अफ सेल मेसिनबाट विद्युतीय कार्डहरू डेबिट कार्ड, क्रेडिट कार्ड, सेक्युरिटी कार्ड, प्रिपेड कार्ड र ब्लाङक कार्डको किर्ते गरी करोडौं रकम चोरी गर्ने गिरोहका ८ जनालाई महानगरीय अपराध महाशाखाको प्रहरीले पोइन्ट अफ सेल मेसिन तथा म्याग्नेटिक कार्डसहित काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं, बुढानीलकण्ठ बस्ने दोलखाका सुरेश केसी, बानेश्वर बस्ने भारत लखनउका अभिषेक पाण्डे, ललितपुर कुसुन्तीका केबलप्रताप जबरा, क्षेत्रपाटीका अनुज नकर्मी, सोही ठाउँका अभिषेक नकर्मी, सोही ठाउँका रोमन महर्जन, ललितपुर मंगलबजार बस्ने काभ्रेका विजय लामा दोङ र क्षेत्रपाटी बस्ने भारत नयाँदिल्लीका नदिम खान रहेका छन्।

उनीहरूले हालसम्म नयाँदिल्लीको ४ वटा कपडा पसलबाट भारतीय रूपियाँ ३ लाख, कास्की पोखरास्थित टिका रिसोर्टबाट २ करोड, क्षेत्रपाटीस्थित डि सोभिनियरबाट ३० लाख, चावहिलस्थित चाँदनी ज्वेलर्सबाट ४७ लाख, भक्तपुरस्थित पौराणिक थान्का तथा मालाबाट ४५ लाख र महाराजगन्जस्थित लिक्वायर कम्पनीबाट ४ लाख रूपियाँ स्वीप गरी निकालेको प्रहरीले जानकारी दिएको छ। उनीहरूले ३ करोड ३ लाख किर्ते गरेर ठगी गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो।

उनीहरूले सिटी सेन्टरमा रहेको एडिडास सोरुमको स्वीप मेसिनबाट प्रत्येक दिन १० लाख र उपत्यकास्थित विभिन्न क्यासिनोमा रहेका स्वीप मेसिनबाट प्रत्येक दिन ५० लाख रूपियाँसम्म निकाल्ने योजना उनीहरूले बनाएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्