साम्प्रदायिक विद्वेष र क्षेत्रीय राजनीतिलाई गतिलो जवाफ दिइने



काठमाडौँ, ८ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनले साम्प्रदायिक विद्वेष र क्षेत्रीय राजनीतिलाई गतिलो जवाफ दिने बताउनुभएको छ ।

एमालेको मेची महाकाली राष्ट्रिय अभियानमा सहभागी स्वयम्सेवक एवम् कलाकारलाई धन्यवाद दिन आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रियता र लोकतन्त्रलाई बलियो बनाउन आगामी निर्वाचनमा आफ्नो पार्टीलाई सुविधानजनक बहुमत दिएर जनताले जवाफ दिने जिकिर गर्नुभयो ।

उहाँले राष्ट्रियता र लोकतन्त्रका विषयमा तर्कपूर्ण बहसका लागि आफूहरुसँग प्रतिस्पर्धा गर्न सबैलाई चुनौती दिनुभयो । अध्यक्ष ओलीले प्रदेश नं २ का अन्य जिल्लामा अन्यत्रभन्दा प्रभावकारी कार्यक्रम गरिने जनाउँदै एमाले त्यहाँ जाँदा मधेसी मोर्चाले फैलाएका भ्रम ध्वस्त हुन्छ भनेर आफूहरुलाई अराजनीतिक व्यवहार गरिएको आरोप लगाउनुभयो ।

निर्वाचन आयोगलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान चलाउन महान्यायाधिवक्ताले गलत परामर्श दिएको आरोप लगाउँदै उहाँले मर्यादित पदका व्यक्ति जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

पार्टीका नेता माधवकुमार नेपालले मेची महाकाली अभियानलाई निर्वाचनसँग जोड्दै पार्टी जनस्तरमा थप पुग्ने बताउनुभयो । महासचिव ईश्वर पोखरेलले प्रदेश नं २ मा स्थगित कार्यक्रमको ढाँचाबारे दुई दिनभित्रै निर्णय गरिने जानकारी दिनुभयो । एमालेले संविधान कार्यान्वयन, निर्वाचन, राष्ट्रिय एकता र सद्भावका लागि गत फागुन २१ देखि यही चैत ५ गतेसम्म सो अभियान सञ्चालन गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्