तीन विधयेक छलफलका लागि स्वीकृत



नेपाल समाचारपत्र
काठमाडौं
व्यवस्थापिका संसद्ले दफाबार छलफलका लागि तीन विधयेक स्वीकृत गरेको छ। आइतबार बसेको संसद्को दोस्रो बैठकले पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयक २०७३, प्रधानन्यायाधीश तथा सर्वाेच्च अदालतका न्यायाधीशको पारिश्रमिक सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक २०७३ र उच्च अदालतका न्यायाधीशको पारिश्रमिक सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक २०७३ लाई छलफलका लागि स्वीकृत गरेको हो।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले वस्तु विनियम बजारसम्बन्धी विधेयक २०७३ लाई प्रस्तुत गर्नुभएको थियो भने बाँकी विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले प्रस्तुत गर्नुभएको थियो।

आइतबारको पहिलो बैठकले नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद स्व. रामहरि ढुङ्गेलप्रति श्रद्धाञ्जली दिँदै शोक प्रस्ताव पारित गरेको थियो। वि.सं २०५६ मा रामेछाप क्षेत्र २ बाट प्रतिनिधिसभामा निर्वाचित ढुङ्गेलको ६० वर्षको उमेरमा चैत ३ गते काठमाडौंमा निधन भएको थियो।

बैठकमा विशेष समय लिएर बोल्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीले देउखुरीस्थित नेपाल–भारत सीमानामा जंगे पिलर भारतीय पक्षले नेपालतिर सारेको दाबी गर्नुभएको छ। उहाँले भन्नुभयो–‘विनाबर्दीका नेपाली जनताले सीमाको सुरक्षा गरेका छन्। तर, सीमा सुरक्षा गर्न भनेर एसपीको नेतृत्वमा रहेको सशस्त्र प्रहरी बल ४० किलो मिटर टाढा लमहीको अर्जुन खोलामा बसेको छ। यसरी सीमा सुरक्षा कसरी हुन्छ?

बैठकमा एमालेका सांसद् राजेन्द्र पाण्डेले प्रधानमन्त्री दाहालले गम्भीर आर्थिक अनुशासनहीन काम गरेको बताउनुभयो। उहाँले भन्नुभयो–‘आर्थिक अनुशासनहीन हुने गरेर कुनै पनि कार्य गर्न पाइँदैन। चालु रहेका कार्यक्रमको बजेट रकमान्तर गर्नु देश बर्बाद बनाउनु हो। यो सरकारलाई रकमान्तर गर्ने अधिकार छैन।

उहाँले सरकारलाई बजेट र नयाँ योजना चाहिएको भए आफैंले पूरक बजेट ल्याउने बताउनुभयो। एमाले सांसद् पाण्डेले एनसेललाई आयकर छुट दिन खोजेर गम्भीर आर्थिक अपराध भइरहेको बताउनुभयो। माओवादी केन्द्रका सांसद् उमेशकुमार यादव फागुन २३ गते सप्तरीमा भएको घटनामा निर्दोष जनताको मृत्यु भएको भन्दै त्यसको जिम्मेवारी एमाले र सरकारले लिनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो–‘एमालेको घमण्डले सप्तरी घटना भयो, त्यहाँ मारिएका सबै सर्वसाधारण हुन्। सरकारले तिनका विषयमा जवाफ दिनुपर्छ। मोर्चाद्वारा बहिष्कार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निरन्तर संसद् बहिष्कार गर्दै आएको छ। संविधान संशोधनसहितको मोर्चाको माग सम्बोधन नगरिएको भन्दै मोर्चाले आइतबार पनि संसद् बैठक बहिष्कार गरेको छ।

संसद् बैठकको शुरूमा बोल्दै तराई–मधस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय यादवले स्थानीय निर्वाचनको वातावरण विथोल्ने काम भइरहेको आरोप लगाउँदै संविधान संशोधन नहुँदासम्म मधेसमा चुनाव नहुने ठोकुवा गर्नुभयो।

‘सरकारले निर्वाचनको वातावरण विथोल्ने काम गरिरहेको छ, उहाँले भन्नुभयो–‘मधेसी मोर्चाको विरोध हुँदाहुँदै गाउँपालिका र नगरपालिकाको बोर्ड राख्न जाँदा स्थानीयले अवरोध गरिरहेका छन्। अब सीडीओले बोर्ड राखेर कुर्न अर्थ छैन। निर्वाचन गर्ने हो भने संसद्मा रहेको संशोधन विधेयकलाई परिमार्जनसहित पारित गरेर जानुपर्ने भनाइ राख्दै संसद् बहिष्कार गर्ने यादवले सुनाउनुभयो। त्यसपछि मोर्चाका सांसदहरूले सदनमा नारावाजी गर्दै बाहिरिएका थिए।

प्रतिक्रिया दिनुहोस्